'शहीद' परिवारलाई १० लाख रूपियाँको चेक हस्तान्तरण

  ०७४ जेठ ३ गते

०७३ फागुन २३ गतेको सप्तरी घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई जेठ ३ गते उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राहतस्वरूप १० लाख रूपियाँको चेक हस्तान्तरण गरेका छन् ।

Photo20170517Saptari

मन्त्रीपरिषदको फागुन २५ गतेको निर्णय अनुरूप घटनाको साँढे २ महिनापछि गृहमन्त्री निधीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको निवासस्थलमा आयोजित कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेका हुन् ।

शहीद परिवारलाई सम्मान तथा क्षतिपूर्ति रकम वितरण कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री निधीले प्रहरीको गोली लागेर मधेसी मोर्चा आबद्ध पाँच जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै क्षमा याचना गरे ।

Photo20170517Saptari1

गृहमन्त्री निधीले मन्त्रीस्तरीय निर्णयबाट बसविट्टी घटनामा ज्यान गुमाएका सबैलाई शहीद घोषणा र घटनाको सत्यतथ्य छानबिनका लागि पूर्व न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्य उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिए । उनले एक महिनाको कार्यदेश दिएर गठन गरिएको सो समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।

नेकपा (एमाले) को मेची-महाकाली अभियान अन्तर्गत सप्तरीको बसविट्टीस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा फागुन २३ गते आयोजित आमसभालाई बिथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबिच भएको झडपका क्रममा सञ्जन मेहता, पीताम्बरलाल मण्डल, आनन्दकुमार साह, वीरेन्द्र मेहता र इन्द्र भनिने इनरदेव यादवको मृत्यु भएको थियो ।

कार्यक्रममा राजपा नेपालका जिल्ला संयोजक सुनिलकुमार झाले गृहमन्त्री निधीलाई दोश्रो चरणको निर्वाचन अघि नै संविधान संशोधनमार्फत मधेसको माग सम्बोधन गर्नुपर्ने, सप्तरी घटनाका दोषीमाथि कारबाही गर्नुपर्नेलगायतका चार बुँदे ज्ञापनपत्र बुझाएका थिए ।


मनोहरकुमार पोखरेल