वैज्ञानिक परीक्षणबिनै मूल्य तोकिएको प्रति चिया कृषकको दुःखेसो

  ०७७ असार १३ गते

चिया कृषकले उत्पादन गरेको हरियो पत्तिको मूल्य उद्योगीहरूले वैज्ञानिक परीक्षणबिनै तोकेप्रति इलामका चिया कृषकले दुःखेसो पोखेका छन् ।

मनपरी ढङ्गले मूल्य निर्धारण गरिदिँदा आफूहरू समस्यामा परेको चिया कृषकको दुःखेसो छ । चिया उद्योगीहरूले कुनै पनि वैज्ञानिक ढङ्गको परीक्षण बिना नाङ्गो आँखाले हेरेकै भरमा हरियो पत्तिको गुणस्तर निर्धारण गर्दै मनपरी ढङ्गले मूल्य तोकि दिएको अन्तुका किसान धरणी घिमिरेले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।

सूर्याेदय नगरपालिकाले हरियो पत्तिको मापदण्ड तयार गरी ०७५ देखि कार्यान्वयनमा ल्याएको छ । तर, चियाको मुख्य सिजनमा लकडाउन भएको र भारत निकासीमा पनि समस्या भएको भन्दै उद्योगीहरूले हरियो पत्तिको मूल्य प्रतिकिलो २० रुपियाँ र ३० रुपियाँका दरले कायम गरी दिएपछि किसान समस्यामा परेको किसान बालकुमार भण्डारीले बताउनुभयो ।‘आफूले उत्पादन गरेको वस्तुको आफैँ मूल्य निर्धारण गर्न नपाउनु किसानको अधिकार हनन भएको छ ।’ भण्डारीले भन्नुभयो । नगरपालिकाले तोेकेको न्यूनतम मापदण्ड विपरीत उद्योगहरूले मूल्य निर्धारण गर्दा किसानको उत्पादन लागतसमेत उठ्न समस्या भएको छ ।

नगरपालिकाले ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५’ कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा ४० प्रतिशत मुना भएको चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ हुनुपर्ने उल्लेख छ ।

नगरपालिकाले दुई वर्ष अघि गरेको अध्ययनमा एक किलो हरियो पत्ति उत्पादन गर्न ३८ रुपियाँ ५० पैसा खर्च हुने पाएपछि न्यूनतम प्रतिकिलो ४० रुपियाँ मूल्य निर्धारण गरेको नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो ।

उद्योगहरूले आफू खुशी मूल्य निर्धारण गरेपछि किसानहरूले चियाको मापदण्ड कार्यान्वयन गर्न नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको किसान बालकुमार भण्डारीले बताउनुभयो ।

लकडाउन शुरू भएपछि यो सिजनमा उत्पादन भएको तयारी चिया भारत निकासी नभएको र बिक्री नहुँदा किसानको पत्तिको मूल्य दिन नसकिएको  सूर्याेदय टी प्रोड्युसर्स एसोसिएशनका सचिव गोपाल कट्टेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्र्पकमा बताउनुभयो ।

६२ ओटा चिया उद्योग आवद्ध रहेको एसोसिएशनले नगरपालिकाले लागू गरेको मापदण्ड अनुसारकै गुणस्तर भएको हरियो पत्ति किसानले बिक्री गर्ने व्यवस्था नगरपालिकाले मिलायो भने मात्र न्यूनतम मूल्य दिन सक्ने सचिव कट्टेलले जानकारी दिनुभयो । कट्टेलले यो वर्ष बिल काटिएको चियाको मूल्य भने उद्योगले निर्धारण गरे अनुसार नै हुने बताउनुभयो ।

Photo 20200627 Ilam


कोकिला ढकाल