वैकल्पिक विद्युत नहुँदा बर्थिङ सेन्टरमा प्रसूति गराउन मुस्किल

  ०७६ मङ्सिर २७ गते

अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या पर्ने गरेको छ ।

मालिका गाउँपालिकाका आठ ओटै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएका छन् । तर, छापहिले स्वास्थ्य चौकीमा बाहेक सात ओटा स्वास्थ्य चौकीका बर्थिङ सेन्टरमा विद्युतको अन्य विकल्प नभएको स्वास्थ्य संयोजक बसन्त भुसालले बताउनुभयो ।

उहाँले गाउँमा विद्युत अनियमित भइरहने र विद्युत गएको घण्टौसम्म पनि नआउने भएका कारण विद्युतको व्यवस्था अनिवार्य रहेको बताउनुभयो ।

‘सबै ठाउँमा विद्युत पुगेको छैन, पुगेपनि नियमित छैन, विद्युतको छुट्टै विकल्प नभएकाले टुकी बालेर सुत्केरी गराउनुपर्ने बाध्यता छ ।’–भुसालले भन्नुभयो ।

त्यस्तै धुर्कोट गाउँपालिकाका तीन ओटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर छन् । यो वर्ष थप तीन स्थानमा बर्थिङ सेन्टर सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको स्वास्थ्य संयोजक प्रेमलाल खनालले जानकारी दिनुभयो ।

‘भवन मात्रै लाखौँका बनाएका छन् तर सेवा व्यवस्थित छैनन्, बर्थिङ सेन्टरमा विद्युत गए, मैन बत्ति खोज्ने हो ।’–मालिका गाउँपालिका–८ की कमला जिसीले भन्नुभयो ।

अहिलेसम्म पिपलधार स्वास्थ्य चौकी, हाडहाडे स्वास्थ्य चौकी र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा सेन्टर स्थापना भएका छन् ।

जसमा हाडहाडे स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बैकल्पिक उर्जाको व्यवस्था नभएको खनालले बताउनु भयो । यस वर्ष गाउँपालिकाले नयाँ गाउँ, जैसीथोक र बस्तु स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्दैछ ।

बर्थिङ सेन्टरमा वैकल्पिक उर्जा आवश्यक भएकाले सम्बन्धित वडाले व्यवस्थापनमा चासो दिनु पर्नेमा खनालले जोड दिनुभयो ।

गुल्मी दरवार गाउँपालिकाका अहिलेसम्म एउटा मात्रै बर्थिङ सेन्टर रहेको छ । दरवार देविस्थान स्वास्थ्यचौकी बाहेक भवनको अभावमा धेरै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न नसकिएको स्वास्थ्य संयोजक नारायण अर्यालले बताउनुभयो ।

उहाँले यस वर्ष तीन स्थानमा नयाँ भवन निर्माण भएकाले वैकल्पिक उर्जासहितका बर्थिङ सेन्टर सञ्चालन गरिने बताउनु भयो ।

स्थानीयतह स्थापनासँगै गाउँ–गाउँमा धमाधम बर्थिङ सेन्टर स्थापना भएपनि व्यवस्थित हुन नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन । वैकल्पिक व्यवस्था नभएसम्म प्रसूतिको जोखिम रहिनै रहने अर्यालले बताउनुभयो ।


टोपलाल अर्याल