वीरेन्द्रनगर नपाद्वारा मानव अधिकार निर्देशिकाको अपनत्व ग्रहण

  ०७७ मङ्सिर १३ गते

वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले अध्ययन गरी तयार पारेको मानव अधिकार निर्देशिकालाई वीरेन्द्रनगर नगरपालिकाले अपनत्व ग्रहण गर्ने भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १३ गते वीरेन्द्रनगरमा आयोजना गरेको ‘कानुन संशोधन प्रतिवेदन र मानव अधिकार निर्देशिका माथि छलफल’ कार्यक्रममा सहभागीहरूले मानव अधिकार निर्देशिकालाई अपनत्व ग्रहण गर्ने बताएका हुन् ।

photo20201128surkhet (1)

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कानुनको समीक्षा तथा मानव अधिकारको अवस्थाका बारेमा अध्ययन गरी इन्सेकले तयार पारेको मानव अधिकार निर्देशिकालाई समयानुकूल नागरिकको आवश्यकताका आधारमा परिमार्जन गर्न आफू तयार रहेको बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको स्थानीय स्वास्थ्य सेवा ऐन २०७६, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७६ र बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ को समीक्षा तथा वीरेन्द्रनगर नपाको मानव अधिकारको अवस्थाका बारेमा अध्ययन गरी सुझाव दिएकोप्रति नगर प्रमुख सुवेदीले इन्सेकलाई धन्यवाद पनि दिनु भयो ।

photo20201128surkhet (2)

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले इन्सेकले तयार पारेको वीरेन्द्रनगर नपाको मानव अधिकार निर्देशिकालाई अपनत्व ग्रहण गर्ने र समीक्षा गरिएका तीन ओटै कानुनहरूलाई संशोधनका लागि नगरसभामा पेश गर्ने बताउनु भयो ।

यसअघि गरिएका समीक्षाका आधारमा कार्यपालिकामा छलफल भई विपद कोष परिचालनमा रकम बृद्धि गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनु भयो ।

photo20201128surkhet (3)

वीरेन्द्रनगर नपाका कानुनी सल्लाहकार एवम् वरिष्ठ अधिवक्ता कृष्ण हमालले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७६ मा विपदको बारेमा अग्रिम सूचना दिनुपर्ने भन्ने शब्दावली राख्नुपर्ने उल्लेख गर्नु भयो ।


दुर्गा थापा