वीरेन्द्रनगर नगरपालिकालाई इन्सेकद्वारा स्वास्थ्य सामग्री प्रदान

  ०७७ जेठ २९ गते

वीरेन्द्रनगर नगरपालिकास्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई राहत पुर्‍याउने उद्देश्यले इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले जेठ २८ गते नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाको प्राङ्गणमा कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई सामग्री प्रदान गर्नुभएको हो । वीरेन्दनगर नपाले जेठ २० गते कोरोना संक्रमण न्युनिकरणका लागि सहयोग गर्न संघसंस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

इन्सेकले प्रदान गरेको सामग्री ग्रहण गर्दै वीरेन्द्रनगर नपाका कार्यवाहक प्रमुख ढकालले विषम परिस्थितीमा गरिने सानो सहयोग पनि मुल्यवानहुने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।

नगरपालिकालाई सर्जिकल मास्क १५ सय थान, सय एमएलको सेनिटाइजर एक सय थान, झुल १० थान, एन ९५ मास्क २० थान र लाईफ ब्वाय साबुन एक सय थान सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यसैबीच संयोजक सुवेदी सहितको इन्सेकको टोलीले जेठ २८ गते वीरेन्द्रनगर नपा ८ स्थित २ वटा क्वारेन्टाइनको स्थलगत अनुगमन गरेको छ ।अनुगमनको क्रममा सुर्खेत क्याम्पस (शिक्षा) र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्थापना गरेको पुर्व सावधानी गृह (क्वारेन्टाइन)मा बसेकाहरुले खानाको उचित व्यवस्थापन भए पनि खानेपानी, शौचालय र स्यनिटाईजर अभावको समस्या भोग्नु परेको गुनासो गरेका थिए ।


दुर्गा थापा