वीरेन्द्रनगरमा १२ घण्टाका लागि कर्फ्यु आदेश जारी

  ०७६ माघ १४ गते

जिल्ला प्रशासन कार्यालय सुर्खेतले माघ १४ गते साँझ साढे ६ बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मका लागि वीरेन्द्रनगर नपाको इत्राम खोलाको पश्चिम, इत्राम दक्षिण, कर्णाली राजमार्ग उत्तर तथा बाँङ्खेसिमल पुर्वको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
मोटरसाईकलमा सवार कालिकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई  भे १ ख २२४२ नम्बरको ट्रिपरले माघ १४ गते बिहान ८ बजेको समयमा किचेर हत्या गरेको विरोधमा उत्रेका मृतकका आफन्त तथा प्रदर्शनकारीहरूले गरेको आन्दोलनका कारण वीरेन्द्रनगर बजार तनावग्रस्त भएपछि स्थानीय प्रशासनले माघ १५ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
मृतक सिंहका आफन्तलगायत प्रदर्शनकारीरूको आन्दोलनको कारण थप असुरक्षा महसुस गरी वीरेन्द्रगरको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भयो ।
मृतकका आफन्तहरूले स्थानीय प्रशासनसँग गरेको सहमति अनुरुप शव उठाउन सहमति गरेपनि अन्य समुहले गरेको आन्दोलनले उग्र रूप लिएपछि यसलाई रोक्न सो आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच मृतक सिंलाई किचेर हत्या गर्ने चालकलाई कारवाही तथा मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै माघ १४ गते दिनभर आन्दोलनमा उत्रेका आन्दोलनकारी र प्रहरी बीच भएको भिडन्तलाई साम्य पार्न प्रहरीले साँझ ५ बजे चलाएको गोली बाट चार जना घाइते भएका छन् ।


दुर्गा थापा