वीरगञ्ज कारागारभित्र चक्कु प्रहार, आठ जना घाइते

  ०७३ पुस ११ गते

वीरगञ्ज कारागारमा अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज घडिअर्वाका ३६ वर्षीय राजन बानियालगायत आठ जनालाई पुस १० गते साँझ रौतहट स्थायी ठेगाना भएका ४२ वर्षीय बन्दी पनिलाल पण्डितले तरकारी काट्ने चक्कुले घाँटीमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

आरोपितको आक्रमणबाट सोनाम मियाँ, दिपेन्द्र यादव, माया दास, व्रिजकिशोर शर्मा, आरिफ मियाँ, अलाउदीन अन्सारी र जयराम लामा घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रराज जोशीले बताए । घाइते मध्ये बानियालाई कारागार बाहिर उपचारका लागि लगिएको र अन्य सात जना घाइतेहरूको कारागारभित्रै उपचार गरिएको डिएसपी जोशीले बताए ।

साधारण विवादमा एउटै कोठामा बस्दै आएका पण्डितले बानियामाथि पछाडिबाट धारीलो हतियार प्रहार गरेपछि निजको घाँटिको पछाडिको हड्डी छिनेको र उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गोविन्दकुमार साहले जानकारी दिए ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका कार्यकर्तासमेत रहेका पण्डित विगत ६ महिना अगाडि सुनसरीको झुम्का कारागारबाट सरुवा भई आएको र मानसिक सन्तुलन समेत ठिक नभएको प्रहरीले जनाएको छ । पण्डितले मानसिक रोगको औषधि खाइरहेको प्रहरीले जनाएको छ ।

घाइते बानियालाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । पीडितको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


केसी लामिछाने