विस्थापितले रकम पाएनन्, रकम फिर्ता

  ०७४ पुस २६ गते

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित परिवारलाई वितरणका लागि गएको असार महिनामा आएको रकम नबाँडेरै फ्रिज भएको छ ।

५ सय ८० घरपरिवारका लागि शान्ति मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय अछाममा आएको ५ करोड भन्दा बढी रकम फिर्ता भएको स्थानीय शान्ति समितिका सचिव अनिलकुमार विष्टले बताए ।

विष्टका अनुसार असारम्म वितरण भइसक्नु पर्ने भएपनि निर्वाचनलगायतले ढिलाइ भएकाले रकम पीडितले पाउन नसकेको बताए । 'चुनावले पहिला बाँड्न सकेनौं अहिले महालेखाले बाँड्न नदिँदा फिर्ता भएको हो ।'-विष्टले भने ।

विस्थापित परिवारहरूले रकम नपाउँदा मर्कामा परेका छन् । असारमा ढिलोगरी मन्त्रालयबाट रकम आएपनि कार्यालयले अर्को खातामा सारेर रकम पीडितलाई बाँड्ने योजना बनाएपनि महालेखाले कार्यालयका नाममा बेरूजु राख्ने बताएपछि फिर्ता भएको हो । 'प्रशासनले बेरूजु राखेर बाँड्न सक्ने भएपनि पछि रकम आउने नआउने फिक्स नभएर फिर्ता गरिदियो ।'-सचिव विष्टले भने ।

गत वर्ष अन्तिमतिर आएको र चुनावका कारण अन्त बाँड्न नसकेको र अन्य खातामा सार्ने भनेपनि महालेखाले रोकेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । आएको रकम सबैलाई पुग्ने नभएपनि फिर्ता भएको रकम पुनः पहल भइरहेको प्रजिअ चौधरीको भनाई छ । रकम पुनः ल्याउनका लागि बलियो पहल आवश्यक रहेको बताइएको छ । सोही रकम पुनः जिल्लामा माग गर्न काठमाडौँ पुगेपछि पीडितले रकम पाउनेमा निश्चित नभएको बताए ।


शिवराज ढुङ्गाना