विषयगत शिक्षक नहुँदा सामुदायिक विद्यालयको पढाई प्रभावित

  ०७६ कत्तिक ५ गते

कक्षा १ मा पढ्दादेखिनै गणित, अङ्ग्रेजी र विज्ञान विषयका शिक्षकको अभाव झेलिरहेका विद्यार्थीहरूले कक्षा १० पास गर्दासम्म पनि यी विषयमा राम्रोसँग पढन पाएका छैनन् ।

जिल्लाका सामुदायिक विद्यालयमा गणित विषय पढाउने शिक्षक नहुँदा विद्यार्थीहरू समस्यामा परेका हुन् ।

सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडामा कक्षा १० मा अध्ययनरत छात्रा पुष्पा महरा विद्यालयमा गणित विषय पढाउने शिक्षक नहुँदा समस्या भएको बताउँछिन् ।

कक्षा १० सम्मको पढाई हुने सिद्धेश्वर माविमा वर्सेनी गणित पढाउने शिक्षक खोजेर अभिभावकले चन्दा उठाएर पठनपाठन गर्नु पर्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।

उनले भने–‘माविसम्मको विद्यालयमा जम्मा तीन जना मात्रै स्थायी शिक्षक रहेका छन् ।’ बैतडीमा १ सय २० ओटा माध्यमिक विद्यालय छन् ।

प्रत्येक माविमा एक–एक जना गणित विषय पढाउने शिक्षकको दरबन्दी हुनु पर्नेमा जिल्लाभर ६१ जना मात्रै गणित पढाउने शिक्षक छन् । ती मध्ये २३ जना स्थायी दरबन्दी र ३८ जना राहत अनुदानका शिक्षक हुन् ।

जिल्लामा प्राथमिक विद्यालय ३ सय १७, निम्नमाध्यमिक १ सय १ र माध्यमिक १ सय २० गरी कुल ५ सय ३८ विद्यालय छन् । ५ सय ३८ विद्यालयमा २ हजार ४ सय ८९ शिक्षकले अध्यापन गराइरहेका छन् ।

माध्यमिक विद्यालयमा गणित विषय पढाउने शिक्षक भने जम्मा ६१ जना मात्र रहको शिक्षा विकास तथा समन्वय एकाई, बैतडीको तथ्याङ्क छ ।

गणित विषयको शिक्षक नहुँदा बैतडीमा प्रत्येक वर्ष गणित विषयको परीक्षामा ५० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुने गरेको शिक्षा विकास तथा समन्वय एकाई, बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । गणित विषय पढाउने शिक्षक नहुँदा वर्सेनी कमजोर नतिजा आउने गरेकोे अवस्थीको भनाई छ ।

अवस्थीले भने–‘जिल्लाभरी १ सय २० ओटा माविमा गणित पढाउने विषयगत शिक्षक पनि १ सय २० नै हुनु पर्ने हो । तर, शिक्षक जम्मा ६१ जना मात्रै छन् । गणित विषय पढाउने चार जना श्रोत व्यक्ति छन् । उहाँहरूलाई शिक्षा मन्त्रालयले दरबन्दी भएको विद्यालयमा गएर पढाउन भने पनि जानुभएको छैन ।’

गत चैतमा बैतडीबाट एसइइ परीक्षा दिने ५ हजार ६ सय विद्यार्थीमध्ये ५० प्रतिशत भन्दा बढी विद्यार्थी गणित विषयमा फेल भएका छन् ।

तीमध्ये २ हजार ५ सय १३ विद्यार्थीले गणित विषयको एसइइ पुरक (ग्रेडवृद्धि) परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाईको तथ्याङ्क छ ।

जिल्लामा रहेका १० ओटा स्थानीय तह अनुसार डिलासैनी गाउँपालिकामा ५७ ओटा विद्यालयमध्ये १० ओटा मावि, दशरथ चन्द नगरपालिकामा ५९ विद्यालयमध्ये १६ ओटा मावि, दोगडाकेदार गाउँपालिकामा ५६ विद्यालयमध्ये १० ओटा मावि, पञ्चेश्वर गाउँपालिका ३५ विद्यालयमध्ये नौ ओटा मावि, पाटन नगरपालिकामा ६५ विद्यालयमध्ये १४ ओटा मावि, पुरचौडी नगरपालिकामा ८८ विद्यालयमध्ये १७ ओटा मावि, मेलौली नगरपालिकामा ४५ विद्यालयमध्ये १२ ओटा मावि, शिवनाथ गाउँपालिकामा ३७ विद्यालयमध्ये ६ ओटा मावि, सिगास गाउँपालिमा ५७ विद्यालयमध्ये १२ ओटा मावि र सुर्नया गाउँपालिकामा ३९ विद्यालयमध्ये १३ ओटा मावि रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी ८८ विद्यालय भएको पुरचौडी नगरपालिकामा १७ ओटा मावि रहेका छन् । तर, यहाँ गणित विषय पढाउने जम्मा तीन जना मात्र रहेको पुरचौडी नगरपालिका शिक्षा फाँट संयोजक दिनेश नागारीले बताए ।

गणित पढाउने शिक्षकको दरबन्दी नहुँदा विद्यालयले निजी श्रोतमा शिक्षक राख्दा विद्यार्थीबाट शुल्क लिनु पर्ने बाध्यताका कारण बैतडीमा बेलाबेला शुल्कको विवादसमेत आउने गरेको छ ।

सरकारले कक्षा १२ सम्मको शिक्षा निःशुल्क भने पनि शिक्षक दरबन्दी नहुँदा विद्यालयले शुल्क लिने गरेको पाइएको छ ।

शुल्कका बारेमा गुनासो आएकाले गत जेठ महिनामा विद्यार्थी भर्ना गर्दा प्रत्येक स्थानीय तहमा रहेको विद्यालयलाई शुल्क नलिन पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय एकाई, बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।


नरी बडु