विषयगत र दरबन्दीका शिक्षक अभावका कारण पठनपाठनमा समस्या

  ०७६ कात्तिक २४ गते

जिल्लाका विद्यालयहरूमा दरबन्दी अनुसार शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको छ । भूमे गाउँपालिका–२ त्रिवेणी मावि काँक्रीमा बालविकासदेखि कक्षा १० सम्म–सञ्चालन छ ।

तर, निमावि तहसम्मको शिक्षक दरबन्दी समेत रिक्त रहेको छ भने भएका आधारभूत तहमा शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् ।

सरकारले शिक्षालाई मौलिक हक अन्तर्गत राखेर  माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनिए पनि जिल्लाका अधिकांश माध्यामिक विद्यालयमा शिक्षकको दरबन्दी सरकारले पूर्ति नगरिदिएपछि अभिभावकबाट सहयोग शुल्क भनि महङ्गो मूल्यमा आफ्ना बालबालिका सरकारी विद्यालयमा पढाउन अभिभावक बाध्य भएका छन् ।

त्रिवेणी मावि ६ वर्षदेखि अभिभावकको सहयोग शुल्क तथा अन्य व्यक्तिले विद्यालयमा सहयोग गरेको रकमको भरमा निजी स्रोतका शिक्षकलाई तलब जुटाइदिएर मावि सञ्चालन रहेको विद्यालयले जनाएको छ ।

गाउँलेले पाँच जना निजी स्रोत र आधारभूत तहका तीन दरबन्दी र गाउँपालिकाको स्वयम्सेवक एक शिक्षकमार्फत मावि सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथीबहादुर बुढा मगरले बताए ।

उनका अनुसार निजी स्रोतका पाँच जना शिक्षकहरू मध्येका तलब मासिक ९ हजार रुपियाँदेखि १५ हजार रुपियाँसम्मको रहेको छ ।

‘वर्षमा ११÷१२ लाख रकम जुटाउनु परेको छ ।’–अध्यक्ष बुढाले दुखेसो पोख्दै भने–‘आयस्रोत केही छैन । अभिभावकबाट सहयोग शुल्क, विदेशी र व्यापारी त्यसैगरी गाउँ समाजको लेनदेनबाट उठेको रकम गाउँलेले विद्यालयमा बुझानुहुन्छ त्यहीबाट उठेको रकमले निजी शिक्षकको तलव दिइराखेका छौँ तर समयमा उहाँहरूको तलव पूर्ति गर्न सकेका छैनौँ ।’

३ सय ५० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत सो विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा मात्रै १ सय ५४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक मदन शर्माले बताए ।

प्रधानाध्यापक शर्माका अनुसार सो विद्यालयमा विगत ६ वर्षदेखि मावि तहको दरबन्दी खाली रहिआएको छ ।

आधारभूत तहगतमा दरबन्दी भएका र गाउँलेले निजी स्रोतमा राखेरै माध्यामिक विद्यालय सञ्चालन गरिरहेका छन् ।

‘दरबन्दी अनुसारका शिक्षक नहुँदा आधारभूत तहका तीन दरबन्दी कोटा र निजीस्रोतका शिक्षकबाट मावि तहसम्म बाध्य भएर धान्नु परेको छ ।’–प्राधानाध्यापकले भने–‘दरबन्दी पुर्ति नभएको कारण तथा विषयगत र तहगत शिक्षक नभएकोले विद्यालय सञ्चालनमा विभिन्न बाधा अवरोध खेप्नुको साथै शिक्षण नतिजा अत्यासलाग्दो हुने गरेको छ ।’

शर्माले भने–‘हामी आधारभूत तहका दरबन्दीका हौँ हामीले मावि तहमा अध्यापन गरिरहेका छौँ । तर, आधारभूत तहका बालबालिकाको पढाइमा असर पर्ने गरेको छ । किनभने हामी बालबालिकालाई समय दिन सकिराखेका छैनौँ । उनीहरूलाई शिक्षकसँग खेल्दै पढाउनु आवश्यक पर्दछ ।’

२०७१ सालमा माध्यमिक तहको पठनपाठनको लागि स्वीकृति पाएको उक्त विद्यालयलमा दुई वर्ष अगाडि मात्र एकजना निमावि राहत कोटाको शिक्षक दरबन्दी छ । त्यसपछि थप दरबन्दी दिइएको छैन ।

पर्याप्त शिक्षकहरू नहुँदा पठनपाठन प्रभावित हुने गरेको कक्षा १० का छात्र हिमाल बुढा मगरले बताए । उनी जस्तै अरू विद्यार्थीले पनि विषयगत शिक्षकका अभावका कारण पढाइ प्रभावित हुने गरेको गुनासो गरेका छन् ।

विद्यार्थीले विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको व्यवस्थापन भए शुल्क रोकिनुका साथै तहगत शिक्षकबाट शिक्षा पाउन सक्ने अभिभावकहरूले आश गरेका छन् ।

बाँकी ६ माविमा पनि दरबन्दीकै अभाव
भूमे गाउँपालिकामा माध्यामिक विद्यालय सात ओटा रहेका छन् । नेपाल राष्ट्रिय मावि चुन्बाङ, जनजागृति मावि महत, शहिद शुक्र मावि सीमा त्यसैगरी सिद्धचौर मावि लुकुम, जनशक्ति मावि काँडा र मावि कुचिबाङमा पनि दरबन्दीको अभाव रहेको छ ।

मावि कुचिबाङमा बालविकास कक्षादेखि कक्षा १० सम्म छ । यस विद्यालयमा पनि मावि शिक्षक दरबन्दी शून्य नै रहेको छ ।

आधारभूत तहका तीन स्वीकृति दरबन्दी र दुई राहत दरबन्दी शिक्षकबाट मावि सञ्चालन रहेको गाउँपालिकाका युवा खेलकूद तथा शिक्षा शाखाका प्रमुख डायमण पुनले जानकारी दिए ।

बाँकी पाँच माविमा भने केही दरबन्दी छन् । गाउँपालिकाको २६ आधारभूत विद्यालयमा पनि पुर्ण दरबन्दी छैनन् त्यसलाई मध्येनजर गरेर मावि सात र आधारभूत २६ गरी ३३ ओटै विद्यालयमा गाउँपालिकाले एक-एक जना स्वयमसेवक शिक्षक खटाएको छ ।


जयमान बुढा मगर