विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राही मर्कामा

  ०७६ भदौ २५ गते

सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् ।

अप्रेशन लगायतका सुविधाहरू बेनीमै उपलब्ध गराउन सकिने भौतिक पूर्वाधार तथा आधुनिक सामग्री सम्पन्न अस्पताल हुँदाहुँदै पनि विशेषज्ञ डाक्टरको अभावले गर्दा बिरामीले सुविधा लिन नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा रहेको आठ विशेषज्ञ डाक्टर तथा एक जना फिजियोथेरापिष्ट दरबन्दी अहिले रिक्त अवस्थामा छ । चार जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा समायोजनको कारणले गर्दा दुई जना गइसकेको छन् भने अन्य दुई जना जाने क्रममा रहेका छन् ।

मेडिकल अफिसरमध्ये दुई जना समायोजन मार्फत अस्पतालमा आएको भएपनि अन्य दुई जना आउने टुङ्गो नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति उपलब्ध गराउनका लागि पटकपटक गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा पनि मन्त्रालयबाट सुनुवाइ नभएको अध्यक्ष कटुवालको भनाई छ ।

कटुवाल भन्छन्-'यहाँ विशेषज्ञ जनशक्ति त्यसै त कमी छ, त्यसमाथि पनि समायोजनले गर्दा जाने गइ हाल्ने र आउनेको टुङ्गो नहुँदा सेवा प्रदान गर्नै नसक्ने अवस्था आएको छ ।'

५० शैयाको स्वीकृत प्राप्त अस्पतालमा अहिले गाइनोलोजिष्ट, पेडियाट्रिक्स मेडिसियन सर्जन, अर्थोसर्जन, साइक्याट्रिस, रेडियोलोजिष्ट, जनरल फिजिसियन, एनेस्थेलियोलोजिष्ट तथा नर्सिङ अधिकृत रिक्त रहेको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले सङ्घीय मन्त्रालयमा दरबन्दी अनुसारको डाक्टर व्यवस्था गर्नका लागि फाइल पठाइएको र उताबाट अनुमति आएपछि प्रकृया अगाडि बढ्ने बताइन् ।

मन्त्री पुनले सङ्घीय मन्त्रालयबाट आधिकारीक रूपमा जानकारी नआएको भएपनि रिक्त दरबन्दीमा अस्थायी तवरले नियुक्तिको व्यवस्था गर्ने अनुमति आउने बुझिएकाले केही समयपछि समस्या समाधान हुने प्रतिक्रिया दिइन् ।

अस्पतालमा दैनिकजसो बहिरङ्ग विभाग तथा इमरजेन्सीमा गरी ३ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको अस्पतालमा म्याग्दी, पर्वत जिल्लाको जलजला गाउँपालिका तथा बागलुङ र मुस्ताङका बिरामीहरू समेत आउने गर्दछन् । अस्पतालमा सेवा नभएपछि बिरामी पोखरा तथा काठमाडौँ जाने गरेको अध्यक्ष कटुवालले बताए ।

गत आर्थिक वर्षमा बेनी अस्पतालमा इमरजेन्सीमा ७ हजार ५ सय १४, बहिरङ्ग विभागमा ३८ हजार ३ सय ३८ जनाले उपचार सेवा लिएका थिए ।

अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिकाकी शकुन्तला सापकोटाले अस्पतालमा पुग्दा स्त्रीरोगको उपचार गर्ने विशेषज्ञ डाक्टर नभएकोले अन्यत्र जाने तयारीमा रहेको बताइन् ।

उनी जस्तै जिल्ला अस्पताल बेनीमा आउने थुप्रै बिरामीहरू सम्बन्धित रोगका डाक्टर नहुँदा समय र पैसा धेरै खर्च गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँछन् ।


अमृत बास्कुने