विविध कार्यक्रमसहित पाचौँ संविधान दिवस मनाइयो

  ०७६ असोज ३ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर असोज ३ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको भन्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलेर अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । संविधान दिवसका अवसरमा देशैभर विविध कार्यक्रम गरिएको छ ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार संयुक्त नागरिक मञ्चले माइतीघर मण्डलामा असोज ३ गते साँझ दिप प्रज्वलन गरी पाचौँ संविधान दिवस मनाएको छ ।

कार्यक्रममा नागरिक अगुवाहरूले संविधानलाई सफल बनाउन सबै नेपालीले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घकी अध्यक्ष भारती पाठकले  संविधान निर्माणमा आफूहरूले विगतमा नागरिक समाजको हैसियतले दबाब दिएको भन्दै यसलाई सफल बनाउन भूमिका खेल्नुपर्ने बताइन् ।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले वर्तमान संविधान असफल भए मुलुक नै असफल हुने खतरा रहेको भन्दै सबै सचेत बन्नु पर्ने बताए ।

उनले भने–‘वर्तमान संविधानलाई असफल बन्न दिनु हुँदैन । बरु यसको सर्वस्वीकार्यता बढाउने तर्फ लाग्नु आवश्यक छ ।’ उनले नागरिक आफैँ पनि आफ्नो अधिकार बारे चनाखो हुनुपर्ने अवस्था आएको बताए ।

त्रिपाठीले अव संविधान खारेजको कुनै स्थान नरहेको तर संविधानमा रहेका हाम्रा अधिकारको पुरा उपभोग गर्न जान्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका उपाध्यक्ष समिर नेपालले वर्तमान संविधानलाई सफल बनाउन सबै नेपाली एकजुट भएर लागि पर्नुपर्ने बताए ।

कार्यक्रममा अधिकारकर्मी डा. पदमप्रसाद खतिवडाले मानव अधिकारमैत्री वर्तमान संविधानमा उल्लेख गरिएका विषयवस्तु हुबहु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधान कार्यान्वयन गर्ने निकाय र नागरिक निकै चनाखो हुनुपर्ने बताए ।

photo20190920kathmandu (1)

photo20190920kathmandu (2)

photo20190920kathmandu (3)

photo20190920kathmandu (4)

photo20190920kathmandu (5)

photo20190920kathmandu (6)

photo20190920kathmandu (7)

photo20190920kathmandu (8)

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान सभाबाट भएका जारी भएको नेपालको संविधान जन अधिकार सम्पन्नताका हिसाबले विश्वकै उत्कृष्ट भएको दावी गरेका छन् ।

संविधान दिवसको अवसरमा बुटवलमा आयोजित मुल समारोहमा मुख्यमन्त्री पोखरेलले यस्तो कुरा दावी गरेका हुन् । उनले संविधानमा सबैका आकांक्षालाई समेट्न नसकिएपनि अधिकार सम्पन्नताको हिसाबले संविधान सभाबाट जारी भएको संविधान विश्वकै उत्कृष्ट भएको दावी गरे ।

photo20190920rupandehi (1)

photo20190920rupandehi (2)

photo20190920rupandehi (3)

photo20190920rupandehi (4)

photo20190920rupandehi (5)

photo20190920rupandehi (6)

photo20190920rupandehi (7)

photo20190920rupandehi (8)

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार संविधान दिवसका अवसरमा दाङमा दश ओटै स्थानीय तहमा सरसफाई तथा र्‍याली गरिएको छ ।

सात ओटा गाउँपालिका, एउटा नगरपालिका र दुई ओटा उपमहानगरपालिकाले आ–आफनो क्षेत्रमा र्‍याली निकालेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।

जिल्लास्तरीय र्‍यालीपछि असोज ३ गते घोराहीको शहिद मञ्चमा भएको सभामा प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, सर्वसाधारणको सहभागिता थियो ।

सभामा बोल्दै सरोकारवालाहरूले संविधानप्रदत्त कानुन करिब बनिसकेको र अब त्यसको कार्यान्वयन नै मुल अभिभारा भएको बताए ।

K

इन्सेक रूकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार रुकुम पश्चिममा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ ।

असोज १ गतेदेखि नै जिल्लामा लोकगीत, वक्तृत्वकलालगायतका प्रतियोगिताहरू सञ्चालन गर्दै असोज ३ गते मौलिक झाँकीसहित बजार परिक्रमा गरेर मञ्चको औपचारिक कार्यक्रम सम्पन्न गरिएको छ ।

औपचारिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले ठूलो बलिदानीपछि आएको यो संविधानको कार्यान्वयन गर्नु सबै नेपालीको दायित्व हुने धारणा राखे ।

समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरेको यस संविधानको कार्यान्वयन गरेमा मात्र देशले समृद्धि हासिल गर्ने उनको भनाई छ ।

रुकुम जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीले संविधान देशको मूल कानुन भएकोले सबै कानुनहरू र मुलुकको समग्र सञ्चालन यसैमा टेकेर हुनुपर्ने बताए ।

संवैधानिक निकाय, राज्यका अन्य विभिन्न अङ्गहरू यसको रक्षक र नागरिक परिपालकको रुपमा रहनुपर्नेमा उनले जोड दिए ।

मुसिकोट नगरपालिकाका कार्यवाहक प्रमुख प्रेमकुमारी सुनार केसीले संविधानले व्यवस्था गरेको मौलिक हकको प्रत्याभूतिका लागि आफूहरूले काम गर्दै आएको बताइन् ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले संविधानमा राज्य सञ्चालनका लागि समग्र व्यवस्था गरेकोले यसैमा टेकेर शासन व्यवस्था सञ्चालन हुने बताए ।

नागरिक समाजका अगुवा बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतमले देशको संवैधानिक विकासलाई हेर्दा यो संविधान उत्कृष्ट भएको बताए ।

photo20190920rukumwest (1)

photo20190920rukumwest (2)

photo20190920rukumwest (3)

photo20190920rukumwest (4)

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान गतिशिल दस्तावेज रहेका कारण जनताको चाहना र भावना अनुसार परिर्वतन गर्न सकिने बताएका छन् ।

चौथो संविधान दिवसको अवसरमा जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले संयुक्त रूपमा आयोजना गरेको नेपालको संविधान, जनअपेक्षा र कार्यन्वयनको अवस्था विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री गुरुङले संविधान गतिशिल भएपनि अहिले नै प्रश्न उठाउने बेला नभएको भनाइ राखे ।

‘संविधानको सामथ्र्य हेरौँ संविधानको विषयमा प्रश्न उठाउने बेला भएको छैन ।’–उनले भने–‘सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि नियन्त्रणमा लिन्छ तर न्यायपालिकाले रिहा गर्न आदेश दिन्छ ।’

कार्यक्रममा मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कमल अर्यालले सङ्घीय सरकार बन्नु अगावै आवश्यक कानुनहरू बन्न नसक्दा समस्या देखिएको बताए ।

जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति अध्यक्ष शेखर गौतमले भने–‘जबसम्म राज्यले घाइते र शहिद परिवारलाई उचित व्यवस्थापन गर्दैन तबसम्म संविधान कार्यन्वयन सफल हुन सक्दैन ।’

photo20190920kaski (1)

photo20190920kaski (2)

photo20190920kaski (3)

photo20190920kaski (4)

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीमा संविधान दिवसलाई कतै राष्ट्रिय दिवसको रूपमा खुशियालीका साथ मनाइएको छ भने कतै विरोधस्वरुप ‘कालो दिवस’को रूपमा मनाइएको छ ।

संविधान दिवस मनाउने नेकपा र कालो दिवस मनाउने राजपाका प्रदर्शनकारीबीच साँझ राजविराज बजारमा सामान्य घम्साघम्सी भएको छ ।

राजविराजस्थित सहिद दशन चोक र गजेन्द्र चोकमा मैनबत्ती प्रज्वलन गर्ने नेकपा, नेपाली कांग्रेस तथा ‘ब्ल्याक आउट’ गर्ने राजपाका कार्यकर्ताहरूबीच घम्साघम्सी परेको हो ।

साँझ ब्ल्याक आउट घोषणा गरेको राजपाले अध्याँरो पार्ने र नेकपा तथा कांग्रेसले मैनबत्ती, मोबाइल र गाडीको लाइट बाल्ने गरेपछि झडपको अवस्था सृजना भएको हो । सुरक्षार्थ तैनाथ प्रहरीले दुवै पक्षलाई अलग गराई घेरामा राखेपछि झडपले उग्र रुप लिन पाएन ।

संविधान सभाबाट संविधान जारी भएको चार वर्ष पूरा भएको खुशियालीमा संविधान दिवस मूल समारोह समिति सप्तरीले राजविराजमा बिहान प्रभातफेरी निकाल्दै संविधान दिवस विषयक प्रवचन गोष्ठी सम्पन्न गर्‍यो ।

प्रभातफेरी सकिनासाथ प्रदेश सभा सदस्यहरू मनिष सुमन र नेत्रविक्रम शाहको नेतृत्वमा मोटरसाइकलमा निक्लिएको राजपाका कार्यकर्ताहरूको जुलुसले राजविराज नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न कार्यालयहरूमा कालो झण्डा झुण्ड्याएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिका उपप्रमुख साधना झाले आफ्नै स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा झुण्ड्याए । कार्यालयहरूमा झुण्ड्याइएको कालो झण्डालाई प्रदर्शनकारीहरू गएलगत्तै प्रहरीले हटाएको छ ।

साँझ राजपाले र्‍यालीसहित राजविराजमा विरोध सभा गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्यहरू, स्थानीय तहका वडा अध्यक्ष र सदस्यहरूसमेतको सहभागिता रहेको थियो ।

संविधान दिवस मूल समारोह समिति सप्तरीको अध्यक्षता गरेका र राजपाको बैठकमा समेत सहभागी रहेका जिल्ला समन्वय समिति सप्तरी प्रमुख प्रभाकर यादव भने कुनै कार्यक्रममा देखा परेनन् ।

सप्तकोशी नगरपालिकामा विभिन्न जातीय पहिरन झल्किने भेषभुषामा निकालिएको जुलुसले नगर परिक्रमा गर्दै धुमधामले संविधान दिवस मनाएको छ ।

सुरुङ्गा नगरपालिकामा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेको प्रमुख आतिथ्यतामा बृक्षारोपण र कल्याणपुरमा दिप प्रज्वलन गरिएको छ । दिप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य रुबी कर्णको समेत सहभागिता रह्यो ।

बोदे बर्साइन नगरपालिकामा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र हनुमाननगर कङ्कालिनी नगरपालिकामा नगर प्रमुख शैलेशकुमार साहको नेतृत्वमा कालो झण्डासहितको मोटरसाइकल र्‍याली निक्लिएको छ ।

यस्तै बलान बिहुल गाउँपालिका–६ का अध्यक्ष सुर्यकुमार दासको अध्यक्षतामा बिहान प्रवचन गोष्ठी तथा साँझ बलान बिहुल चोकमा नेकपाद्वारा अन्तरक्रिया र दिप प्रज्वलन गरिएको छ ।

संविधान घोषणादेखि नै अपनत्व ग्रहण नगरेको राजपाले साँझ १५ मिनेट ‘ब्ल्याक आउट’ गरेको छ भने सरकारीस्तर तथा नेकपा र नेपाली कांग्रेसले साँझ ठाउँठाउँमा दिपावली गरेको छ ।

photo20190920saptari (1)

photo20190920saptari (2)

photo20190920saptari (3)

photo20190920saptari (4)

photo20190920saptari (5)

photo20190920saptari (6)

m

photo20190920saptari (8)

photo20190920saptari (9)


अनलाइन डेस्क