विवाह दर्ताको प्रमाणपत्र माग्दा धारिलो हतियार प्रहार

  ०७३ माघ ७ गते

विवाह दर्ताको प्रमाणपत्र घरमा रहेकोले सो प्रमाणपत्र माग गर्दा नलाङ गाविस-६ अर्चलेका २९ वर्षीया सीता गुरुङलाई ०७३ माघ ६ गते पति २८ वर्षीय रामकुमार परियारले आक्रमण गरी घाइते बनाएका छन् ।

पतिले पटक पटक कुटपिट गरेका कारण सदरमुकाममा रहेको महिला सुरक्षा घरमा बस्दै आएकी सीतालाई पति रामकुमारले पहिले नै दर्ता भएको विवाह दर्ता र बच्चाको जन्मदर्ताको प्रमाणपत्र माग गरेका कारण धारिलो हतियारले आक्रमण गरेको पीडितले आरोप लगाइन् ।

यसअघि पतिले कुटपिट गरेका कारण माघ ४ गते घरबाट निकालिएकी सीता सम्बन्ध बिच्छेदको लागि आफ्नो विवाह दर्ता र बच्चाको जन्म दर्ता लिन घर पुगेको बेला उनिमाथी आक्रमण गरिएको पीडितले बताइन् । हँसियाले आक्रमण गरी घाइते बनाएको अवस्थामा स्थानीयले उनको उद्धार गरेका थिए ।

बेहोस अवस्थामा उद्धारपछि जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा यहाँ उपचार सम्भव नभएकोले थप उपचारको लागि काठमाडौँ स्थित वीर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितको टाउको र हात तथा शरिरभरी धारिलो हतियारले काटिएको छ ।

घटनापछि प्रहरीले आरोपित रामकुमारलाई गिरफ्तार गरेको छ । आरोपितलाई ज्यानमार्ने उद्योग अर्न्तगत जाहेरी समेत परेकोले सोही अनुसार अनुसान्धान गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी