विवाह गर्ने उमेर अघि नै सम्बन्ध विच्छेद !

  ०७५ असार २९ गते

विवाह गर्ने उमेर अघि नै समाजमा सम्बन्ध विच्छेदका घटना बढदै आएको जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा सम्बन्ध विच्छेदका १ सय १ र अंशसहित सम्बन्ध विच्छेदका ३२ गरी १ सय ३३ थान मुद्दा परेको जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले जानकारी दिए । जिल्ला न्यायाधीश धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूले सबैभन्दा बढी सम्बन्ध विच्छेदको निवेदन दिने गरेका छन् ।

‘सम्बन्ध विच्छेद गर्न आउने धेरैलाई परामर्श गर्ने गरेका छौँ, तर उनीहरू सहमतिमै सम्बन्ध विच्छेद गर्न आउने भएकाले हाम्रो कुरा सुन्न चहदैनन् ।’–धामीले भने । सम्बन्ध विच्ेछद गर्न आउने ५० प्रतिशतभन्दा बढिका बालबच्चा हुने र तिनीहरूको भविष्य अन्यौलमा हुने गरेको न्यायाधीश धामीले बताए ।

‘सम्बन्ध विच्छेद गर्दा आमासँगको बच्चालाई बाबुले पाल्ने भन्ने हुन्छ, पछि के हुन्छ ? थाहा हुँदैन यसले गर्दा बालबच्चाको लालनपालनमा समेत समस्या आउने गर्छ ।’–उनले भने । परिपक्व नहुँदै प्रेम विवाह गर्ने र विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद गर्ने समस्या बढदै आएको न्यायाधीश धामीको भनाई छ । वैदेशिक रोजगारीका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको जिल्ला अदालत सल्यानका श्रेष्तेदार गणेशकुमार गौतमले बताए ।

गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ९९ थान मुद्दा परेकोमा यस आर्थिक वर्षमा  १ सय १ वटा मुद्दा परेको श्रेष्तेदार गौतमले जानकारी दिए । यसैगरी गत आवमा अंश दावीसहित २७ थान मुद्दा दर्ता भएकामा यस आवमा ३२ थान मुद्दा दर्ता भएको उनले जानकारी दिए । यसैगरी यस आर्थिक वर्षमा पुरुषले सम्बन्ध विच्देछका लागि दिएको एउटा मात्र मुद्दा दर्ता भएको जिल्ला अदालत सल्यानले जानकारी दिएको छ ।


मीना बुढाथोकी