विवाद मिलाउन पुगेका समन्वयकर्ता प्रहरीको लाठीचार्जबाट घाइते

  ०७४ कात्तिक २३ गते

सन्धिखर्क नपा -२ स्थित चुत्रावेशी बजारमा स्थानीय युवाबिच विवाद भएपछि प्रहरीले कात्तिक २२ गते बेलुकी ९ बजे लाठीचार्ज गर्दा सन्धिखर्क नपा-२ का ३४ वर्षीय दामोदर केसी गम्भीर घाइते भएका छन् ।

Photo20171109Arghakhachi

बेलुकी करिब ९ बजे स्थानीय पसले छिमेकीहरूको झगडा मिलाउन समन्वय गरिरहेका केसीलाई प्रहरीले एक्कासी कुटपिट गरेको स्थानीयको आरोप छ ।

प्रहरीको लाठिचार्जबाट घाइते भएका केसीको सामान्य उपचार जिल्ला अस्पतालमा गरेपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ । उनको टाउकोमा चोट लागेकाले भैरहवा रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख जगनाथ तिवारीले जानकारी दिए ।

स्थानीयबीच भएको विवाद बुझ्नको लागि गएका प्रहरीले तीन जना स्थानीयलाई गिरफ्तार गरेका थिए । त्यसपछि अवस्था झन् जटिल भएको भन्दै प्रहरीको मोबाइल टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले कुटपिट गरेको भए पहिचान गरी कारबाही गरिने र घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश यादव सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


नारायण भुसाल