विवरण नविकरण नहुँदा सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

  ०७७ चैत १५ गते

विवरण नविकरण नहुँदा बीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

समाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्तिगत विवरण हरेक वर्ष अद्यावधिक हुने गर्दछ । त्यसलाई वार्षिक नविकरण भनिन्छ । त्यही नभएका कारण उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

बीरगंज महानगरपालिकामार्फत गत वर्ष फागुनमा पहिलो चौमासिकको भत्ता वितरण भएको थियो तर बेलवाका ७५ जनाले सो भत्ता पाउन सकेनन् ।

उनीहरूले वार्षिक रूपमा नविकरणको लागि वडा कार्यालयमा आवेदन दिएका थिए । तर, उनीहरूको नविकरण नभएको कारण सामाजिक सुरक्षा भत्ता नपाएको बताइएको छ ।

बैङ्कमा सामाजिक सुरक्षा भत्ता लिन गएका उनीहरूले भत्ता नआएको सूचना पाएपछि वडा कार्यालयमा सम्पर्क गरेका थिए ।

वडा सचिव नारायणप्रसाद चापागाईँले सबै जनाको फारम नविकरणको लागि महानगरपालिकामा पठाएको र त्यहीँबाट समस्या भएको हुन सक्ने बताउनु भयो ।

वडाले मागेको सबै कागजात दिएपनि नविकरण नभएकोले भत्ता पाइँदैन भन्ने जानकारी आफूहरूलाई महानगरले दिएको ७२ वर्षीय ज्येष्ठ नागरिक धुमन महतो नूनीयाले बताउनु भयो ।

वडा अध्यक्ष रेयाज अहमदले ७५ जना सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकोमा दुःखी भएको बताउनु भयो ।

वडाभरमा ४ सय ८६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । विवरण नविकरणका लागि बनाइएको कागज पत्रको कार्यालय कपी वडामा हुनु पर्नेमा ७५ जनाको कार्यालय कपी वडा कार्यालयमा नरहेको वडा अध्यक्ष अहमदले बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरूको विवरण नविकरण नभएको विषयमा आफूले छानविन गरिरहेको बताउनु भयो ।


कृष्णचन्द्र लामिछाने