विरामीलाई प्रादेशिक अस्पताल जनकपुरले भर्ना नलिएको आरोप

  ०७७ जेठ २ गते

गणेशमान चारनाथ नपा–९ बरमझिया की १२ वर्षीया बालिकालाई प्रादेशिक अस्पतालले वैशाख ३१ गते भर्ना नलिएको पीडित परिवारको आरोप छ ।

बालिका विरामी भएपछि उपचारका लागि लगेकोमा प्रादेशिक अस्पतालले वैशाख ३१ गते भर्ना नलिएको कारण त्यसै फर्कनु परेको पीडितका बुवा रितो महरा रविदासले गुनासो गर्नु भएको छ ।

दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्दै आएका अति विपन्न परिवारसँग लकडाउनको बेला पैसा अभावका कारण नीजि अस्पतालमा भर्ना गराउन नसकेर छोरीलाई सरकारी अस्पतालमा उपचारका लागि लगेकोमा भर्ना नगरेको बिरामीका बुवा रविदासले बताउनु भएको छ ।

पीडित बालिकाको छिमेकीसमेत रहनु भएका गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख रामबावु यादवले वैशाख ३१ गते बालिकालाई प्रादेशिक अस्पतालसम्म एम्बुलेन्सको जोहो गर्दै नगद २ हजार रुपियाँ रकम समेत दिएर पठाएको भएपनि अस्पतालले भर्ना लिन नमानेपछि बालिका घर फर्किन बाध्य भएकी छिन् ।

पीडितको छिमेकी समेत रहनु भएका मानव अधिकारकर्मी विनोद महराका अनुसार अति नै विपन्न परिवारका योनीमा घाउँ भएकी बालिकाको समयमै उपचार हुन नसके ज्यान जान सक्ने खतरा छ । अस्पतालमा विरामीलाई भर्ना नगरेको जानकारी पाएपछि अस्पतालका प्रमुख डा. नागेन्द्र यादवलाई पटक–पटक फोन र मेसेज गर्दा समेत कुनै रेस्पोन्स नपाएको महराले बताउनु भयो ।

अस्पतालको अध्यक्ष संजय सिंंहसँग चिकित्सकलाई कुरा गराउन लाग्दा समेत चिकित्सकले फोनमा कुरा समेत गर्न नमानेकाले जनताले पाउनुपर्ने स्वास्थ्यसम्बन्धी आकस्मिक सेवाको हक हनन् भएको मानव अधिकारकर्मी महराले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह