विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

  ०७६ साउन २८ गते

“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लाका सरोकारवाला सङ्घ, संस्थाहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला युवा समिति सिरहा, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, इन्सेक सिरहा, सहयोगी हातहरू लहान, ओरेक नेपाल, दलित जनकल्याण युवा क्लब, मुक्ति नेपाल, जिल्ला प्रहरी कार्यालय सिरहा लगायतका सङ्घ संस्थाहरूको संयुक्त आयोजनमा सिरहाका १७ ओटै स्थानीय तहहरूबाट आएका युवाहरू बिहान र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीमा उनीहरूले सामाजिक हानिकारक परम्पराविरूद्ध आवाज उठाएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा ‘हानिकारक मूल्य मान्यताविरूद्ध हामी युवा’ विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
photo20190813siraha (2)
इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार नेपाल सरकार तथा युएनडिपीको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट, सामुदायिक र निजी विद्यालयहरू, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहट, महिला सुरक्षा दबाब समूह रौतहट, सेतो गुराँस बाल विकास सेवा रौतहट, गैरसरकारी संस्था माहासङ्घ नेपाल जिल्ला शाखा रौतहटकोे समन्वय तथा सहकार्यमा १२ अगष्ट २०१९ मा रौतहटको चन्द्रनिगाहापुरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

रौतहट जिल्लामा बढ्दो लागुपदार्थ दुर्व्यसनीले गर्दा युवाहरूमा परेको असरलाई मध्यनजर गरी ‘लागुपदार्थ दुव्र्यसनीमा आजका युवाहरू’ भन्ने विषयमा चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहापुरलाई केन्द्रित गरी र्‍यालीको आयोजना गरिएको थियो ।
photo20190813rautahat
कार्यक्रममा ग्रामीण विकास केन्द्रकी प्रतिनिधि सङ्गीता ठकुरीले आगामी दिनमा यस्ता कार्यक्रमहरू सञ्चालनका क्रममा नेपाल सरकारले सम्पूर्ण नेतृत्वको जिम्मा लिनुपर्ने देखिएको बताइन् ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले दुव्र्यसनीमा लागेका युवाहरूलाई कडाईका साथ प्रहरी प्रशासनले कारवाही गर्नुपर्ने पर्ने र दुव्र्यवसनीमा लाग्न नदिन अभिभावकहरूले आ–आफ्नो बालबालिकाप्रति विशेष ध्यान दिनु पर्ने बताइन् ।

धनुषाको जनकपुरमा राष्ट्रिय मानव अधिकार अयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, जिल्ला युवा संवाद समूह धनुषा र नेपाल प्रहरी लगायतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस मनाउने क्रममा बिहान जनकपुरको जानकी मन्दिरको प्राङ्गणबाट सुरू भएको र्‍याली जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
photo20190813dhanusha (2)
जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरू देश विकासका कर्णधार भएको उल्लेख गरिन् ।  सो अवसरमा उनले युवाहरूको शिक्षा र रोजगारका क्षेत्रमा उपमहानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

photo20190813dhanusha (1)
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढा मगरले विकास निर्माणमा युवाहरूको योगदान महत्वपूर्ण हुने हुँदा युवाहरूको लागि रोजगारको व्यवस्था आवश्यक रहेको बताए ।  प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले शान्ति र विकासमा जुट्न युवाहरूलाई आग्रह गरे ।


इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम