विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज र गार्ड गिरफ्तार 

  ०७६ चैत ९ गते

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित दुई जनालाई चैत ७ गते राति प्रहरीले गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चन्द्रपुर—३, महादेवडाडा अल्लाजोरबाट चन्द्रपुर—५ थलाही टोल घर भएका रौतहट जिल्ला इन्चार्ज ३५ वर्षीय कुमार भनिने मानबहादुर राई र बाग्लुङ्ग जिल्ला डोरपाटन नपा—२ बुर्तिवाङ्गका ४० वर्षीय जगत भनिने कमल गुरुङ्गलाई गिरफ्तार गरेको हो ।

गुरुङ्ग चन्द समूहको भातृ संगठन नेपाल संघका जिल्ला अध्यक्ष हुन् । दुुबै जनालाई गोप्य सूचनाको आधारमा घेरा हालेर गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शाहीले जानकारी दिनु भयो । उनीहरुलाई ग्रिनेड बम, एक थान पेस्तोल, त्यसमा लाग्ने गोली, मोबाइल सात थान, केहि सिमकार्ड र पार्टीको दस्तावेज बरामद गरीएको डिएसपी शाहीले बताउनु भयो ।

उनीहरु रौतहटका जनप्रतिनिधिसँग चन्दा माग गर्ने र एनसेल टावरमा आगजानी गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ । डीएसपी शाहीले भन्नुु भयो–“केहि समयदेखि हामीले निगरानी र पिछा गर्दै आएका थियौँ । उनीहरु मकवानपुरका सीमामा लुकेर बसेको सूचना पाएपछि घेरा हालेर नियन्त्रणमा लिन सफल भयौँ ।”

गिरफ्तार परेकाहरुको विषयमा अनुसन्धान भैरहेको डिएसपी शाहीले बताउनु भयो । यस अघि सोही क्षेत्रबाट रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य दुर्गा बललाई समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको थियो ।


कोपिला तिमल्सिना