विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा ‘कब्जा’

  ०७६ जेठ २३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा ‘कब्जा’मा लिएको जनाएको छ ।

चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा कित्ता नम्बर १७९८ रहेको उक्त जग्गा पार्टीले कब्जा गरेको भन्दै जग्गामा झण्डा गाडेर पार्टीको जनपरिषदले विज्ञप्ति प्रकाशन गरेको छ ।

जग्गा कब्जा गरेको ब्यानर र विज्ञप्ति जग्गामा टाँगेर पार्टीले भूमाफियाले जग्गाका वास्तविक धनीबाट गलत व्यक्तिले उम्काएको आरोप सो पार्टीले लगाएको छ ।

उक्त जग्गा कुनै पनि व्यक्तिले हडपेमा जनपरिषदले कडा कारबाही गर्ने भन्दै धम्कीपूर्ण व्यानर र विज्ञप्ति सार्वजनिक गरेको छ ।

यसबारेमा महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर केपी विष्टले जग्गा कब्जामा लिएको विज्ञप्ति र ब्यानर प्रहरीले झिकेको बताउँदै घट्नाबारे अनुसन्धान थालेको जानकारी दिए ।

Photo 2019-6-7 Bhaktapur (2)

Photo 2019-6-7 Bhaktapur (1)


सविना केसी