विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा कब्जा !

  ०७५ चैत ३० गते

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा बेलकोगटगढी नपा–१३ बाराहीमा जग्गा कब्जा गरेको छ ।

चैत २९ गते विज्ञप्ति जारी गर्दैै मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ ।

जग्गा दलालीहरूले लामाको नाममा रहेको उक्त जग्गा बैङ्कमा राख्न भन्दै ललाईफकाई गरेर किर्तिपुर बस्ने निराजन थापालाई बेचेकोले उक्त जग्गा कब्जा गरी मानबहादुर लामालाई नै फिर्ता गराउन माग गरिएको छ ।

आफ्नो जमीन बैङ्कमा राखिदिन्छु भनी जालसाजी गरेर बेचबिखन गर्ने भु–दलाललाई कारबाही गरी न्यायका लागि पार्टीलाई अनुरोध गरेकाले पीडितले न्याय नपाउञ्जेल उक्त जमीन रोक्का गरी कुनै सङ्घ संस्था र व्यक्तिलाई कारोबार नगर्न जिल्ला सेक्रेटरी विन्तोस सिलवालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमार्फत मानबहादुरसँग बैङ्कमा राख्न भन्दै जग्गा लिने सुर्जेबहादुर तामाङ, उनकी पत्नी सविता तामाङ, जग्गा किन्ने निराजन थापा र सिफारिस दिने तत्कालीन मदानपुर गाविस सचिव किरण श्रेष्ठलाई कारबाहीको माग गरिएको छ ।


नवदीप श्रेष्ठ