विप्लव नेतृत्वको नेकपाद्वारा सुमार्गीको जग्गा कब्जा

  ०७५ चैत १० गते

विप्लव नेतृत्वको नेकपाकाले पोखरामा महानगरपालिका वडा नं ३२ मा रहेको व्यापारी अजयराज सुमार्गीको नामको २५ रोपनी जग्गा कब्जामा लिएको दाबी गरेको छ ।

चैत ९ गते शनिबार नेकपा कास्कीले विज्ञप्ति जारी गर्दै सुमार्गीको नाममा रहेको २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ कित्ता नं रहेको जग्गा कब्जा गरेको जनाएको छ ।

सोवासचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको जग्गा सिग्देल परिवार र पोखरा महानगरपालिका–१२ का बद्रीप्रसाद आचार्यबीच घर व्यवहार मिलाउन १ करोडमा कारोबार हुँदा जग्गा धितो राखिएको थियो ।

तर, सिग्देल परिवारलाई पैसा फिर्ता दिँदा जग्गा नदिई आचार्यले सुमार्गीको नाममा पास गराएको नेकपाले दाबी गरेको छ ।

पीडित परिवारले जनपरिषदमा निवेदन दिएपछि छानबिनका आधारमा उक्त जग्गा विवादित देखिएकाले कब्जा गरिएको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी रवीन्द्रमान गुरुङले भने जग्गा कब्जाको सूचना आएपछि प्रहरी गएर ब्यानर र झण्डा हटाएको जानकारी दिए ।


सुशन घिमिरे