विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कारागार गेटबाटै पुनः गिरफ्तार

  ०७६ जेठ २५ गते

बारा जिल्ला जीतपुर सीमरा उपमहानगरपालिका–२ मुसर्नीमाईमा बस्दै आएका ४५ वर्षीय भिम खनाल भनेर चिनिने चुडामणी खनाललाई सादा पोशाकका प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको आरोपमा जेठ २५ गते वीरगञ्ज कारागार गेटबाट गिरफ्तार गरेको छ ।

०७५ फागुन २५ गते घरबाटै गिरफ्तार भएका खनाललाई शान्ति सुरक्षा अन्तर्गत दुई महिनाको कैद सजाय भएको थियो ।

कैद भुक्तान गरेर कारागारबाट निस्किएका खनाललाई कारागार गेटबाटै पर्सा प्रहरीले गिरफ्तार गरेको हो ।

सादा पोशाकका प्रहरीले खनाललाई तीन तीरबाट घेरा हालेर मोटरसाइकलमा चढाई लिएर गएको खनालका छिमेकी कृष्ण थापाले बताए ।

प्रहरीले तपाईहरू जिल्ला प्रहरी कार्यालयमा आउनु होला केही कुरा बुझ्नु पर्ने छ भनेर प्रहरीले भनेको थापाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा भेटिएका उनीहरूले खनालको गिरफ्तारीको आलोचना गरे । खनालको गिरफ्तारी मानव अधिकारको उल्लङ्घन भएको उनीहरूको भनाई छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गिरफ्तारीको पुष्टि गरेका छन् ।


केसी लामिछाने