विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित दुई जना अदालतबाटै गिरफ्तार

  ०७६ जेठ २४ गते

सर्वोच्च अदालतको आदेश अनुसार हिरासतमुक्त भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गङ्गादेव गाउँपालिका–३ रोल्पाका ५२ वर्षीय चुडामणी ओली र सोही ठाउँका रोल्पा जिल्ला सदस्य ४८ वर्षीय लालबहादुर ओलीलाई प्रहरीले जेठ २४ गते दाङ जिल्ला अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

हिरासत मुक्त भएका उनीहरूलाई प्रहरीले अदालतको परिसरबाटै जिल्ला प्रहरी कार्यालयमा काम छ भन्दै पुनः लगेका थिए ।

दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले चुडामणी र लालबहादुरलाई पक्राउ पुर्जी आइसकेकाले छोड्न नमिल्ने बताए ।

उनले चुडामणीलाई काठमाडौँ र लालबहादुरलाई रोल्पा पठाइएको बताए । ०७६ वैशाख ६ गते तुलसीपुर–१ राम्रीबाट गिरफ्तार परेका ओलीद्वयलाई हिरासत मुक्त गर्न माग गर्दै १८ वर्षीय विनोदकुमार केसीले वैशाख १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले जेठ २४ गते गैरकानुनी रूपमा हिरासतमा राख्न नमिल्ने भन्दै हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

पार्टी परित्याग गरेपछि हिरासत मुक्त

यसैबीच विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा घोराही उपमनपा–१३ का ४० वर्षीय बीरवल ओलीले जेठ २४ गते विज्ञप्ति निकालेर पार्टी र जिम्मेवारी परित्याग गरेको घोषणा गरेपछि प्रहरीले सोही दिन हिरासत मुक्त गरेको छ ।

उच्च अदालत तुलसीपुर जेठ २३ गते हिरासत मुक्त गर्न आदेश दिएपनि अदालतको गेटबाटै गिरफ्तारीमा परेका ओलीले इलाका प्रहरी कार्यालय भालुवाङको हिरासतबाट विज्ञप्ति निकालेर पार्टी परित्याग गरेको घोषणा गरेपछि उनकी ३० वर्षीया बहिनी कल्पना ओलीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले बताए ।

ओलीलाई दाङ प्रहरीले ०७५ चैत ६ गते घोराहीस्थित आफ्नै घरबाट गिरफ्तार गरी सार्वजनिक मुद्दा दर्ता गरेको थियो ।


जे.एन.सागर