विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित तीन जना गिरफ्तार

  ०७६ जेठ ३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज थावाङ गाउँपालिका–२ का ४९ वर्षीय जयप्रकाश रोका ‘प्रताप’ लुङ्ग्री गाउँपालिका इन्चार्ज  ४० वर्षीय धनबहादुर खत्री ‘टाइगर’ र सोही गाउँपालिकाका सेक्रेटरी ४२ वर्षीय भुपेन्द्र खड्कालाई प्रहरीले लुङ्ग्री गाउँपालिका–१ स्थित ऐपेबाट जेठ २ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तार परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले बताए ।

डिएसपी खड्काका अनुसार आरोपितहरूबाट सकेट बम २ थान, पेस्तोल १ थान, गोली १७ राउण्ड र १ थान खुकुरी बरामद गरिएको छ ।

कार्यकर्ता भेटघाट कार्यक्रम गर्दै गर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रम स्थलबाटै गिरफ्तार गरेको र उनीहरूको साथबाट कुनै किसिमको हतियार, विष्फोटक पदार्थ नभएको सो पार्टीले जनाएको छ ।


माधवकुमार ओली