विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्यसहित दुई जना गिरफ्तार

  ०७६ वैशाख २६ गते

इलाका प्रहरी कार्यालय कोहलपुरले वैशाख २५ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्यसहित दुई जनालाई विष्फोटक पदार्थ सहित गिरफ्तार गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको नेतृत्वमा गएको टोलीले पोलिटव्युरो सदस्य कालिकोट जिल्ला रासकोट नपा–६ का ३० वर्षीय भरत बम र उनका सहयोगी ४२ वर्षीय सत्यबहादुर शाहीलाई गनापुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा गनापुरस्थित एक कम्पनीमा चन्दा माग्ने क्रममा चन्दा नदिएपछि पोलिटव्युरो सदस्य भरत बम र शाही प्रेसर कुकर बम लिएर त्यस स्थानमा बम राख्न जाँदै गर्दा  गिरफ्तार गरिएको डिएसपी सिंहले बताए ।

आरोपितहरूबाट कुकर बमसहित पार्टीको अति आवश्यक दस्तावेजहरू समेत प्रहरीले बरामद गरेको डिएसपी सिंहले बताए । आरोपितहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


स्मृति देवकोटा