विपन्न समुदायका विद्यार्थी पढ्ने आधारभूत विद्यालयको अवस्था दयनीय

  ०७६ वैशाख २७ गते

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका स्थित एक आधारभूत विद्यालयका विद्यार्थी घरबाटै बोरा बोकेर पढ्न जान्छन् । स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू आफू बस्न घरबाटै केही न केही जोहो गरेर जान्छन् ।

जलेश्वर नपा–१२ सारी स्थित अभिनन्दन आधारभूत विद्यालयको अवस्था ज्यादै दयनीय छ । यस्तो दयनीय अवस्था रहेको विद्यालयमा पढ्छन् दलित, गरिव र अति विपन्न समुदायका करिब १ सय विद्यार्थी ।

विद्यार्थीलाई धूलो माटोमै बसेर पढ्नुपर्ने बाध्यता छ । हेर्दै खण्डहर जस्तो, कोठामा न झ्याल छ न ढोका । परिसरभर जताततै इँटा रोडा छरिएको छ ।

छेउछाउमा घाँसपात उम्रेको छ । दुई ओटा कोठामा झ्याल ढोका नभए पनि भुइँ भने पक्की छ । अर्को दुई वटा कोठा अहिले निर्माणाधीन छ ।

पहिल्यैदेखिको दुई ओटा कोठामध्ये एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्काे एउटा कोठामा बालविकासको कक्षा सञ्चालन गरिन्छ ।

बाँकी रहेको एउटा कोठा कामै नलाग्ने अवस्थामा रहेकाले त्यो कोठामा पुराना इटाहरू थुपारेर राखिएको छ ।

कक्षा एक देखि कक्षा पाँच सम्मका बालबालिकालाई अहिले पनि घरबाट जुट र प्लाष्टिकको बोरा लिएर पढ्न आउने बाध्यता छ ।

कक्षा कोठाभित्र टुटे फुटेको दुई ओटा बेञ्च र एउटा बेञ्चमा इँटा हालेर बस्न लायक बनाएर राख्नुबाहेक अरू केही छैन । वर्षौँदेखि बालबालिकालाई पढाउने ब्ल्याकबोर्ड समेत थिएन ।

केही दिन पहिले मात्र सो विद्यालयको दुई ओटा कक्षा कोठामा ब्ल्याकबोर्ड निर्माण भयो । अभावै अभाव बिच कक्षा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको विद्यालयका प्राधानाध्यापक हैदर अन्सारी बताउँछन् ।

विद्यालयमा शिक्षकको समेत अभाव रहेको पनि उनले सुनाए । दुई जना स्थायी शिक्षक, एक जना बालविकासको शिक्षक र एक जना कार्यालय सहयोगीको भरमा विद्यालयमा कक्षा पाँच सम्मको कक्षा सञ्चालन गरिरहनु परेको अन्सारीले बताए ।

भवन र शिक्षक अभाव रहेका कारण दुई ओटा कक्षालाई एउटै कोठामा राखेर एकै जना शिक्षकले पढाउँदै आएका छन् । अस्तव्यस्त विद्यालयमा न कहिल्यै घण्टी लाग्छ न कहिल्यै प्रार्थना हुन्छ ।

विद्यालयको भौतिक संरचना र शिक्षक अभाव भएकै कारण चाहेर पनि पठन पाठनको अवस्था सुधार्न नसकिएको प्रअ अन्सारी बताउँछन् । उनी थप्छन्, ‘पठनपाठनको वातावरण भए पो विद्यार्थी सङ्ख्या बढ्छ ।’

विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदा विद्यार्थी भर्ना त हुन्छ तर पढ्ने बातावरण नै नहुँदा केही दिनमै विद्यार्थी विद्यालय आउन छाड्ने अन्सारीको भनाइ छ ।

विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । अभिनन्दन आधारभूत विद्यालयमा अहिले ९६ जना मात्र विद्यार्थी छन् ।

कक्षा एकमा २२ जना, कक्षा २ मा २२ जना, कक्षा ३ मा ९ जना, कक्षा ४ मा १४ जना, कक्षा ५ मा १५ जना र बालविकासमा १५ जना विद्यार्थी मात्रै नियमित रूपमा आउने गरेको विद्यालय प्रशासनको भनाइ छ ।

अभिभावक रामपदार्थ दासले अन्य ठाउँमा अंग्रेजीमा कक्षा सञ्चालन भइसकेको अवस्थामा आफ्नो विद्यालयमा अहिलेसम्म अङ्ग्रेजी कक्षा सञ्चालन हुन नसक्नु ज्यादै नै दुःखद् रहेको अनुभव सुनाए ।

अहिले आएर विद्यालयमा खाजा कार्यक्रम सञ्चालनमा आएको सुनेर खुसी लागे पनि आफ्नो बालबालिकालाई चाउचाउ, बिस्कुटजस्ता जंक फुड खुवाइने गरेकोले सो कार्य तत्काल बन्द हुनुपर्ने माग उनको छ ।

अभिभावक हसिना खातुनले अधिकाँश गरिव र विपन्न समुदायको बालबालिका यस विद्यालयमा पढ्न आउने गरेकोले सबैले विद्यालयलाई हेला गर्ने गरेको गुनासो गरिन् ।

सरकारले स्कुल ड्रेस, किताब र छात्रवृत्ति दिए पनि सो अपुग रहेकोले थप सहयोग विद्यालयमा दिनुपर्ने आग्रह उनले गरिन् ।

यस सन्दर्भमा जलेश्वर नगरपालिकाको मेयर राम शङ्कर मिश्रले भने–‘हामीले त्यस विद्यालयको लागि गत वर्ष भवन निर्माण गर्न रकम विनियोजन गरेर उपभोक्ता समितिमार्फत निर्माणको काम अघि बढायौँ । तर, अहिले प्राविधिक मुल्याङ्कन गराउँदा भवनको जग कमजोर भएकोले छत ढलान गर्न नमिल्ने बताएको हुँदा काम अड्केको हो । छत ढलान नगरी हामीले जस्तापाता हाल्न खोज्दा फेरि त्यहाँका वडा अध्यक्ष बिकाऊ दासले ढलान गर्ने जिद्दी गरेको हुँदा काम रूकेको हो ।’

मेयर मिश्राले सुरक्षाको दृष्टिकोणले प्राविधिकको सल्लाह मान्नु पर्ने अवस्था भएको बताउँदै उनले एक अधिकारकर्मी सहितको टोली अनुगमन तथा अवलोकन गरेर यसको समाधान खोजौँ भन्ने धारणा व्यक्त गरे । उनले विद्यालयको फर्निचरको लागि आफूले अबिलम्ब पहल गर्ने बताए ।

photo20190511mahottari (1)

photo20190511mahottari (2)

photo20190511mahottari (3)


अजयकुमार साह