विद्युत सेवा नियमित नहुँदा अस्पतालको आकस्मिक सेवा प्रभावित

  ०७६ भदौ २० गते

जिल्लामा विद्युत सेवा नियमित नभएपछि जिल्ला सामादायिक अस्पतालको आकस्मिक सेवा प्रभावित हुँदा बिरामीलाई समस्या भएको छ ।

 

विद्युत समस्याका कारणले अस्पतालमा आएका सेवाग्राहीहरूलाई तत्काल सेवा दिन असजिलो बन्दै गएको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए ।

 

विद्युतको समस्याले अस्पतालमा अपरेशन कक्षमा पनि समस्या हुने गरेको डाक्टर प्रकाश साहुले बताए । अपरेशनका क्रममा विद्युत जाँदा बिरामीको ज्यान नै खतरामा पर्ने गरेको डाक्टर साहुको भनाई छ ।

 

अस्पतालमा भएको वैकल्पिक उर्जा जेनेरेटरले दुई घण्टा भन्दा बढी काम नगर्ने भएकाले जटिल समस्या भएका बिरामीहरूलाई बाध्य भएर अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको डाक्टर साहुको भनाई छ ।

 

अक्सिजन, नेवुलाइजर, शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे जस्ता नियमित सञ्चालन हुने काममा विद्युतको आवश्यक पर्ने भएपनि विगत पाँच महिनादेखि जिल्लामा विद्युत सेवामा समस्या देखिँदा अस्पतालको सेवा पनि प्रभावित भइरहेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

 

बेसीशहर नपा–३ की २२ वर्षीया रविना दुलालको गर्भवतीको अपरेशन गर्नुपर्ने भएपनि विद्युत सुचारू नहुँदा अपरेशनको लागि भदौ १६ गते पोखरा रिफर गरेको थियो ।

 

रविनाकी सासू सुमित्रा दुलालले भदौ १५ गते जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरेर भदौ १६ गते अपरेशनको लागि पोखरा लैजाँदा समय र आर्थिक रूपमा समेत कठिनाइ उत्पन्न भएको बताइन् ।

 

बेसीशहर नपा–६ का राजु राउतकी ७८ वर्षीया आमा केशकुमारी राउतलाई स्वास प्रश्वाससम्बन्धी समस्या भएर उपचारका लागि जिल्ला सामुदायिक अस्पताल पुर्‍याएको भएपनि विद्युतकै समस्याले गर्दा अस्पतालले बिरामीलाई भदौ १५ गते चितवन मेडिकल कलेज रिफर गरेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले दमौलीबाट ल्याइएको विद्युत सेवा नियमित नहुँदा अस्पताल मात्र नभई अन्यत्रको पनि दैनिक कार्यमा समस्या भएको र समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

 

विद्युत सेवा नियमित गर्नको लागि अस्पताल प्रशासनले विगतमा चार पटक बेसीशहर नगरपालिका, जिल्ला प्रशासन, लमजुङ विद्युत उपभोक्ता संस्थासँग समस्याको विषयमा छलफल गरेपनि समस्या समाधान नभएको अस्पतालका प्रमुख श्रेष्ठको भनाई छ ।

 

विद्युत अनियमितताबाट हुने समस्याको दीर्घकालिन समाधानका लागि अस्पतालले वैकल्पिक व्यवस्थाको तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए ।

 

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सर्वपक्षीय बैठकमा विद्युत नियमित रूपमा सुचारू गर्नका लागि नेपाल विद्युत प्राधिकरण र विद्युत उपभोक्ता संस्थालाई आग्रह गरेको बताए ।

 

जिल्ला उपभोक्ता संस्थाले विद्युतको पोल न्यून गुणस्तरको रहेकोले यो समस्या आएको जानकारी दिएको अर्यालको भनाई छ ।

 

विद्युत उपभोक्ता संस्थाले भने पोलको गुणस्तरका साथै दमौलीको ३३ केभिए लाइन प्रसारणमा नै समस्या आएकोले विद्युत सेवा अवरोध भएको जनाएको छ ।


दलबहादुर मजाकोटी