विद्यालय व्यवस्थापन समिति गठनको विवादका कारण झडप

  ०७३ कात्तिक २० गते

विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद भएका कारण डाँडाफयामा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ । उक्त झडपमा परी दुईजना घाइते भएका छन् ।

डाँडाफया गाविस-१ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३६ वर्षीय नेत्रबहादुर शाहीलाई सोही ठाउँका नयाँ शक्ति पार्टीका कार्यकर्ता ३४ वर्षीय हरिबहादुर शाही र ३५ वर्षीय नरेन्द्र शाहीले कात्तिक १८ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित नेत्रबहादुरको टाउको र कानमा चोट लागेकोले उपचारका लागि कात्तिक १९ गते जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डा. ध्रुव सिंहले बताए ।

आफ्ना पार्टीका कार्यकर्तालाई नयाँ शक्तिका कार्यकर्ताले कुटपिट गरेको घटनाको प्रतिशोधमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमा बसेको अवस्थामा डाँडाफया गाविस-१ की नयाँ शक्ति पार्टीका कार्यकर्ता २६ वर्षीया कलसरा शाहीलाई कात्तिक १८ गते साँझ कुटपिट गरेका छन् । कलसराको घाँटी र छातिमा चोट लागेको छ ।

कलसरालाई सोही ठाउँका नेकपा माओवादी केन्द्रका कार्यकर्ता २८ वर्षीय इश्वर शाही र अखिल क्रान्तिकारीका १७ वर्षीय एक कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

कैलाश माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियादेखि बढेको राजनीतिक विवादले उग्र रूप लिएपछि राजनीतिक दलका कार्यकर्ताबिच झडप भएको हो ।

घटनामा संलग्न व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर ओमप्रकाश यादवले जानकारी दिए । इन्स्पेक्टर यादवका अनुसार दुई दलका कार्यकर्ताबिच भएको विवादको अनुसन्धान भइरहेको छ ।


नन्द सिंह