विद्यालय बाहिर रहेका बालबालिकाप्रति स्थानीय तह बेखबर

  ०७५ चैत २६ गते

संविधानले आधारभूत तहसम्मको अनिवार्य शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको भए पनि रोल्पाका स्थानीय तह विद्यालय बाहिर रहेका बालबालिकाप्रति बेखबर रहेको छ । जिल्लाका स्थानीय तहले आफ्ना क्षेत्रमा कति बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर छन् भन्ने विवरण समेत राखेको पाइएन ।

भर्खर मात्र सकिएको वार्षिक परीक्षामा कति विद्यार्थी अनुपस्थित भए र अब भर्ना अभियान कसरी सञ्चालन गर्ने भन्ने बारेमा कुनै योजना यहाँका स्थानीय तहसँग छैन । रुन्टीगढी गाउँपालिकाले अब हुने भर्ना अभियानबारे कुनै योजना बनाएको छैन । कति विद्यार्थी विद्यालय भर्ना भए र कतिले वार्षिक परीक्षा दिए र उनीहरू कहाँ छन् ? भन्नेमा गाउँपालिकाले कुनै चासो नदिएको रुन्टीगढी गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति कुलराज आचार्यले बताए । भर्ना अभियानबारे गाउँपालिकाले अहिलेसम्म कुनै छलफल नगरेको उनको भनाइ छ ।

सदरमुकामस्थित रोल्पा नपालाई पनि आफ्नो क्षेत्रका कति विद्यार्थी विद्यालय बाहिर छन् भन्ने थाहा छैन । नगरप्रमुख पूर्ण केसीले केही दिनमा शिक्षा समितिको बैठक बसालेर भर्ना अभियानबारे छलफल गर्ने बताए । नगर क्षेत्रको शिक्षा हेर्नेगरी जिम्मा पाएका श्रोत व्यक्ति लोककुमार श्रेष्ठ पनि विद्यार्थी कति विद्यालय बाहिर छन् भन्ने जानकारी नभएको बताउँछन् ।

गत वर्ष शैक्षिक सत्र सुरु हुन थाल्दा भर्ना नभएर इँट्टा भट्टा वा अन्य रोजगारीका लागि विद्यालयबाहिर रहेकाको आधिकारिक तथ्याङ्क स्थानीय सरकारसँग नभएपनि गैरसरकारी संस्थाले भने विवरण राखेको छ । गत शैक्षिक सत्रमा करिब २ हजार ५ सय बालबालिका विद्यालय बाहिर रहेको सेभ द चिल्ड्रेन रोल्पाका परियोजना प्रमुख दिलकमल क्षेत्रीले बताए । ती मध्ये करिब ५ सय बालबालिकालाई स्कुल पठाउन सहयोग गरेको उनको भनाइ छ । 'यस वर्षको वार्षिक परीक्षामा पनि करिब ४ हजार विद्यार्थी अनुपस्थित छन् ।' क्षेत्रीले भने ।

मजदुरीका लागि हिँडेकालाई बेलाबेलामा प्रहरीले उद्धार गरेर घर फर्काउने गरे पनि उनीहरू अन्य गोरेटो बाटो प्रयोग गरेर जिल्ला बाहिर जाने गरेको उनको भनाइ छ । 'विद्यालयमा भर्ना नै नहुनु एउटा समस्या छ भने भर्ना भएकालाई टिकाइराख्नु अर्को चुनौती छ ।' क्षेत्रीले भने ।'  भर्ना नहुने संख्याभन्दा भर्नापछि विद्यालय छाड्नेको संख्या बढी रहेको क्षेत्रीले बताए ।


माधवकुमार ओली