विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट

  ०७७ फागुन १५ गते

बर्दिवास नगरपालिका–३, स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका शिक्षक एवम् पूर्व प्रधानाध्यापक ५० वर्षीय नेत्रबहादुर रम्तलेमाथि विद्यालय परिसरमै फागुन १३ गते कुटपिट भएको छ ।

शिक्षण क्रियाकलापमा खटिएका शिक्षक रम्तेललाई विद्यालय परिसरमा सोही ठाउँका २८ वर्षीय मनिष अर्यालले कुटपिट गरेको पीडित शिक्षकले आरोप लगाउनु भएको छ ।

शिक्षक रम्तेलमाथि टाउकोमा मुक्का प्रहार गर्दै शरिरमा लगाएको गञ्जि, सर्ट र कोर्ट च्यातिदिएको प्रत्यक्षदर्शी शिक्षकले बताए । शिक्षकमाथि भइरहेको आक्रमण रोक्न खोज्दा आरोपितले ढुङ्गा प्रहार गरेको विद्यार्थीहरूले बताए ।

दोषिलाई कार्वाहीको माग गर्दै शिक्षक रम्तेलले इलाका प्रहरी कार्यालय बर्दिवासमा फागुन १४ गते उजुरी दर्ता गराएको बताउनुभयो ।

आर्यालले यसअघि होटल व्यवसायीमाथि आक्रमण गरेको बर्दिवास नपा–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताउनुभयो ।

आरोपितलाई फागुन १३ गते नै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विरेन्द्र थापाले बताउनुभयो ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष नरबहादुर खनालले आरोपितमाथि हदैसम्मको कारवाही गर्नु पर्ने माग गर्नुभएको छ ।

शिक्षक रम्तेलमाथि विद्यालयमै आक्रमण भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरूले फागुन १४ गते प्रदर्शन गरेका छन् ।


अजयकुमार साह