विद्यालय परिसरमा गिट्टी बालुवाको भण्डारण, विद्यार्थीको पढाई प्रभावित

  ०७५ जेठ ३१ गते

जगरनाथपुर गाउँपालिका-५ को बहहुवरी प्रसौनीमा रहेको नेपाल राष्ट्रिय प्रथामिक विद्यालयको प्राङ्गण गिट्टी बालुवाको विक्री कक्ष बनेको छ ।

पर्खालले घेरिएको विद्यालयको प्राङ्गणमा निर्माण व्यवसायी समेत रहेका वडाध्यक्ष रामअयोध्या कुर्मीको गिट्टी बालुवा भण्डारण गरिएको हो ।

जङ्गलबाट निकासी गरी ल्याइएको गिट्टी बालुवा विद्यालय परिसमा भण्डारण गरिँदा विद्यार्थीको पढाई प्रभावित भएको छ ।

१ सय २० जना विद्यार्थी अध्ययनरत यो विद्यालयमा बालुवा गिट्टी बोकेर परिसरमा पस्ने ट्रयाक्टरको आवाजको कारण विद्यार्थीलाई पढाउन नसकिएको र उनीहरूको पढाइमा प्रतिकूल असर परिरहेको विद्यालयका सहायक प्रधानाध्यापक जीतेन्द्र पाण्डेले बताए ।

बहुवरी प्रसौनीकै व्यक्ति वडाध्यक्ष विजयी भएको र उनैले बिदालय परिसरमा गिट्टी बालुवा राख्न लगाएकोले उनको कामप्रति कसैले सवाल उठाउन नसकेको एक शिक्षकले बताए ।

तराईमा प्रचण्ड गर्मी छल्न बिहानमा कक्षा संचालन गर्ने चलन छ । बिहानको शितल समय अध्ययन अध्यापन ठिक मानिन्छ तर त्यही बेला ट्रयाक्टरको आवाजले शिक्षक र विद्यार्थीको ध्यान भङ्ग गर्छ ।

अहिले ठेक्का पट्टाको काम छाडेको बताउने वडा अध्यक्ष आमअयोध्या कुर्मी भने बिद्यालय प्रशासनले गिट्टी बालुवा राख्न दिएको भन्दै आफनो बचाउमा लागेका छन ।

स्थानीयले भने सङ्घीय समाजवादी फोरम नेपालबाट विजयी भएका कुर्मीको "बहुवली" चरित्रका कारण कसैले केही नभन्ने भएकोले विद्यालयलाई पनि आफ्नो व्यापारको अड्डा बनाएको बताउँछन् ।

सङ्घीय समाजवादी फोरम नेपालबाट विजयी प्रदेशसभा सदस्य प्रहलाद गिरीको वडा पनि यही हो । यो विद्यालय २०१६ सालमा स्थापना भएको हो ।


केसी लामिछाने