विद्यालय निर्माणको विषयलाई लिएर भएको झडपमा आठ जना घाइते

  ०७७ असोज ५ गते

उत्तरी डोल्पाको एक विद्यालयको निर्माणको विषयमा भएको झडपमा परी आठ जना घाइते भएका छन् ।

छार्काताङसोङ गाउँपालिका–४ मा पर्ने काककोटस्थित तेन्जिङ नोर्के आधारभुत विद्यालयमा असोज २ गते भएको झडपमा वडाध्यक्षसहित आठ जना घाइते भएका हुन् ।

विद्यालयमा छलफल भइरहेको अवस्थामा वडाध्यक्ष पक्षधर र वडासदस्य खुमचुङ रोकाय पक्षबिच विद्यालय निर्माणको लागि आएको बजेट अनियमितताका विषयमा विवाद हुँदा ढुङ्गा हानाहान भएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेका अनुसार झडपमा परेर घाइते हुनेहरूमा ३५ वर्षीय गुरु गुरुङ, ६० वर्षीया निमाछिरिङ घर्ती, २७ वर्षीया लारकर रोकाया र ३३ वर्षीया लामजुङ गुरुङ हुनुहुन्छ ।

त्यसैगरी ३५ वर्षीय लालमान रोकाया, ४० वर्षीया सेराप गुरुङ, २२ वर्षीया सीता गुरुङ र वडाध्यक्ष छेवाङ् गुरुङ घाइते हुनु भएको छ ।

खुमचुङ रोकाय छार्काताङसोङ गाउँपालिकाका न्यायिक समितिका सदस्य समेत हुनुहुन्छ । घाइतेहरूको हात, गोडा र टाउकोमा चोट लागेको र सबैको अवस्था सामान्य रहेको छ ।

वडाध्यक्ष छेवाङ र उहाँका छोरा गुरु उपचारको लागि हेलिकप्टेरमार्फत काठमाडौँ गएको र अन्यको घाउजाँच गरी अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

घाइते लामजुङ गुरुङले गाउँपालिका अध्यक्ष सेनाङ गुरुङलगायतको समुहले कुटपिट गरेकाले कारवाही गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय दुनैमा असोज ४ गते निवेदन दिनु भएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले झडपमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि लगाइएको आरोप झुठो भएको बताउनु भएको छ ।


विष्णुप्रसाद देवकोटा