विद्यालय तथा घरबाट अपहेलित भएको भन्दै ११ वर्षीय बालकद्वारा आत्महत्या

  ०७६ असार १० गते

बागमती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिर लुङ्वाले विद्यालय तथा घरपरिवारबाट अपहेलित भएको सुसाइट नोट लेखेर असार ७ गते आत्महत्या गरेका छन् ।

लुङ्वाले सुसाइट नोटमा कक्षामा छात्रहरूलाई मात्रै पिट्ने, छात्राहरूलाई केही पनि नगर्ने गरेको र आफूलाई कसैले पनि माया नगरेको भनी सुसाइड नोटमा लेखेर घरको निदालमा डोरीको पासो लगाएर आत्महत्या गरेको पाइएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।

बालकले सुसाइट नोटमा आफू बिरामी पर्दा पनि बिरामी भएको होइन भन्ने शिक्षकहरूको नाम उल्लेख गरेको र यस्तो आरोप लागेका शिक्षकहरू विरूद्ध अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै मुतकका बाबु सुकबहादुर लुङ्बाले महानगरीय प्रहरी वृत्त चापागाउँमा आरोपितहरू विरूद्ध असार ९ गते लिखित उजुरी दिएको प्रहरीले जनाएको छ ।

बालकको सुसाइट नोट अनुसार प्रहरीले शिक्षकहरू सरस्वती घिमिरे, दिवाकर लामिछाने र गोविन्द तिमल्सिनालाई असार ८ गते नै हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी खिउजुले बताए । शवको पोष्टमार्टम असार ९ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे