विद्यालय अगाडि राखिएको बमले विद्यार्थी आतङ्कित, पठनपाठन प्रभावित

  ०७३ फागुन १८ गते

राजविराज नपा-५ स्थित लक्ष्मी इङ्लिश बोर्डिङ् स्कूल अगाडि फागुन १८ गते सकेट बम फेला परेपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।

विद्यालय अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानीयबासी आतङ्कित भएका छन् ।

विद्यालयका कर्मचारीले एका बिहानै रातो पर्चासँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बमसँगै सो स्थानबाट जयकृष्ण गोईत नेतृत्वको मोर्चाको रातो पर्चाहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जनाएका छन् ।

श्री कृष्ण दल गण राजविराजबाट गएको सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई राजविराज नपा-१ स्थित रङ्गशालामा लगेर बिहान ११ बजे निष्कृय गरेको छ ।


मनोहरकुमार पोखरेल