विद्यालयले व्यवस्थापन समिति गठन नगर्दा शिक्षकले तलब पाएनन्

  ०७६ असोज १६ गते

दशैँ नजिकिए पनि चन्दननाथ नगरपालिकामा कार्यरत ४६ जना शिक्षकले तलब नपाएको गुनासो गरेका छन् ।

असार महिनादेखि तलब नपाएपछि शिक्षकहरूले ऋण खोजेर दशैँ मान्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।

कर्णाली माध्यामिक विद्यालय, अनामनगर र चन्दननाथ माध्यामिक विद्यालय खलङ्गालाई विद्यालय व्यवस्थापन समिति गठन गर्न तीन पटकसम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति गठन नगरेपछि खाता रोक्का गरिँदा शिक्षकको तलब समेत रोकिएको नगरपालिका शिक्षा शाखाका संयोजक खडानन्द चौलागाईले बताए ।

कर्णाली माध्यामिक विद्यालय, अनामनगरका १६ जना र चन्दननाथ माध्यामिक विद्यालयका ३० जना गरी ४६ जना शिक्षकले तलब नपाएको बताएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठन नभएको भन्दै विद्यालयको खाता रोक्का गर्नु न्यायोचित नभएको शिक्षकहरूको दावी छ ।

कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले शिक्षा ऐन र विद्यालय व्यवस्थापन समितिको कमजोरीका कारण शिक्षकहरू मारमा परेको बताए ।

चाडबाडको मुखमा तलब नआएपछि जिल्ला बाहिरका शिक्षक सरसापटी खोजेर घर गएको र जिल्लाभित्रका शिक्षक पनि समस्यामा रहेको प्रधानाध्यापक शर्माले बताए ।

विद्यालय व्यवस्थापन समितिको आफ्नै दावी
शिक्षा ऐन २०७४ को दफा १२ (क) मा विद्यालय व्यवस्थापन समितिको कार्यवधि तीन वर्ष हुने उल्लिखित छ ।

चन्दनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रोकायाले भने–‘२०७४ सालमा गठन भएको व्यवस्थापन समितिको म्याद ऐनका अनुसार अझै एक वर्ष बाँकी छ तर नगर शिक्षा समितिले सिधै समिति भङ्ग गरी नयाँ गठन गर्न परिपत्र दियो ।’

शिक्षा ऐनको व्यवस्था र परिपत्र बीच कुरा बाझिँदा र समय अभावले गर्दा विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिएको रोकायाको भनाई छ ।

म्याद अझै बाँकी रहेकोले तत्काल नयाँ गठन सम्भव नरहेको बताउँदै रोकायाले दशैँ लगत्तै अदालतमा गएर न्याय माग्ने समेत उल्लेख गरे ।

निर्णय कार्यान्वय नहुँदा खाता रोक्का
शिक्षा ऐनको आठौँ संशोधन २०७६ असार १३ गते आएपछि ऐनले जुम्लाका १ सय ७० ओटै विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न उल्लेख गरेको थियो ।

चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले नगरपालिका भित्रका १९ ओटा विद्यालयका समितिहरू साउन २६ गते भङ्ग गरी भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ समिति गठन गर्न परिपत्र गरेको बताइन् ।

तर, भदौ मसान्तसम्म पनि सदरमुकामका १९ विद्यालय मध्ये दुईओटा विद्यालयले तीन पटकसम्म ताकेता पत्र पठाउँदा पनि समिति गठन र सूचना प्रशारण समेत नगरेको सेजुवालको भनाई छ ।

जसका कारण नगर शिक्षा समितिले आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै दुई विद्यालयको खाता रोक्का गरेको नगरपालिका प्रमुख सेजुवालको बताइन् । विद्यालय प्रक्रियामा नगएका कारण खाता रोक्का गर्नु परेको सेजुवालले दावी गरिन् ।


मानदत्त रावल