विद्यालयले फाराम नभर्दा लक्षित विपन्न विद्यार्थी छात्रवृद्धि पाउनबाट बञ्चित

  ०७६ फागुन ३० गते

पर्वतमा लक्षित विपन्न छात्रवृद्धि प्रति विद्यालयहरु नै ग्रैह्र जिम्मेवार बनेको पाइएको छ । पर्वतका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५ हजार भन्दा बढी लक्षित वर्ग तथा विपन्न वर्गका विद्यार्थी भएपनि विद्यालयहरुको बेवास्ताका कारण छात्रवृद्धि पाउनबाट बञ्चित भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये अधिकांश विद्यार्थीहरु दलित र विपन्न वर्गका रहेका छन् । छात्रवृद्धि सिफारिसका लागि पटक पटक सुचित गरेपनि विद्यालयहरुले अन्तिम समयमा मात्रै आएर चासो देखाउने र विवरण नपु¥याएका कारण समस्या उपन्न हुने गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धिमराम पौडेलले जानकारी दिनुभयो ।

पर्वतमा गत वर्ष कुनै पनि विद्यालय विपन्न लक्षित छात्रवृद्धि फाराम नभरेको जानकारी दिँदै चालु शैक्षिक सत्रमा पनि हाल सम्म एक दुई विद्यालय बाहेक उत्साहजनक रुपमा विद्यालयहरु छात्रवृद्धि फाराम भर्न नतम्सिएको पौडेलले बताउनुभयो ।

सरकारले लक्षित तथा विपन्न छात्रछात्राहरुका लागि छात्रवृद्धि वितरण गर्ने सुविधा ल्याएपनि फाराम भर्ने क्रम झण्झिटिलो भएको कारण देखाउँदै फाराम नभर्ने गरेको पौडेलको भनाइ छ ।
फाराम भर्ने क्रममा वडाको सिफारिस, विद्यालयको सिफारिस, अभिभावक तथा विद्यार्थीको निवेदन लगायतको कागजातहरु आवश्यक पर्ने भएकाले समस्या देखिएको हो ।

दुई नगरपालिका र पाँच गाउँपालिका गरि सात स्थानीय तह रहेको पर्वतमा ३३ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । छात्रवृद्धिका लागि विद्यालयको कोड सहित अनलाइन मार्फत फाराम भर्नुपर्ने भएकाले विद्यालयहरु आफै सक्रिय हुन नसकेका हुन् ।

जिल्ला शिक्षा समन्वय इकाई प्रमुख पौडेलका अनुसार छात्रवृद्धि फाराम भरेमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले वार्षिक ६ हजारका दरले विद्यार्थीले रकम पाउँछन् भने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले जनही वार्षिक २० हजार देखि २४ हजार सम्म छात्रवृद्धि बापतको रकम पाउने व्यवस्था छ ।

पर्वतमा विद्यालयको वेवास्ताका कारण नै विद्यार्थीहरु छात्रवृद्धि पाउनबाट बञ्चित हुनुपरेको उहाँले गुनासो गर्नुभयो ।


सन्तोष थापा