विद्यालयमा शुल्क तिर्न नसक्दा पढाइबाट वञ्चित

  ०७६ माघ २३ गते

सरकारले माविसम्म निःशुल्क र अनिवार्य शिक्षाको नीति ल्याएपनि अझैपनि केही बालबालिका विभिन्न कारणले विद्यालय जान बाट वञ्चित भएको पाइएको छ ।

जिल्लाको सदरमुकाम स्थित शारदा नगरपालिका–२ डाँडागाउँमा रहेको एक विद्यालयमानै बालबालिकाहरूले विद्यालय छाडेको पाइएको छ ।

त्रिजमावि लुहापिङ् अन्तर्गत बालमन्दिरमा एलकेजीमा अध्यनरत शारदा नगरपालिका–२ मेलघारी निवासी विकास सिंह र उनका भाइ नर्सरीमा अध्यनरत नविन सिंहले विद्यालयमा शुल्क तिर्न नसकेपछि विद्यालय जान छाडेको करिब चार महिना भयो ।

दुवै बालकको आमाले छोडेर गएपछि बुवाले पनि वास्ता गर्न छाडेको र हजुरबुवासँगै बस्दै आएका ति बालकहरूले विद्यालयमा मासिक रूपमा लिँइदै आएको १ सय ५० रुपियाँ समेत तिर्न नसकेपछि विद्यालय जान छाडेको उनका हजुरबुवा जयबहादुर सिंहले बताउनु भयो ।

‘हामी अर्काको काम गरेर छाक टार्ने मान्छे पर्‍यौँ ।’–उहाँले भन्नुभयो–‘बुहारीले घर छाडेदेखी छोराले पनि कामधन्धा त्यती केही गर्दैन् । मैले गरेको काम बाट आएको ज्याला खान जुटाउनैमा सकिन्छ । दुइ भाइको महिनाको शुल्क ३ सय रुपियाँ आउँछ । कहाँबाट तिरेर पढाउनु ?’

यता विद्यालयमा अध्यापन गराउने बाल विकास शिक्षिका शान्तिप्रभा पुरीले ति बालकहरू दसैँपछिबाट विद्यालय नआएको बताउनुभयो ।

शुल्क तिर्न नसकेपछि विद्यालय आउन छाडेको कुरा आफुले थाहा पाएपछि बोलाउन पठाएको तर अहिले सम्म पनि नआएको उहाँको भनाइ छ ।

यस विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरू गरेपछि कक्षा सञ्चालन गर्न नर्सरीदेखि १ कक्षासम्म मासिक १ सय ५० शुल्क तिर्नु पर्छ ।’–उहाँले भन्नुभयो–‘यो शुल्क निजी विद्यालय भन्दा त धेरै कम हो तर पनि अभिभावकले जुटाउन सक्दैनन् ।’

यस विद्यालयमा पढ्न आउने अधिकांश विद्यार्थीको अवस्था यस्तै छ । अर्का छात्र कक्षा १मा अध्यनरत अर्जुन गन्धर्वले पनि तीन महिना कक्षा छाडेर अहिले बल्ल विद्यालय जान थालेको छ ।

विद्यालयमा शुल्क नतिरेपछि शिक्षकले पिट्ने धम्की दिएको बताउँदै शुल्क जम्मा नगर्दासम्म विद्यालय नै जाँदिन भनेर कक्षा छाडेको उहाँका अभिभावक पंछी गन्धर्वले बताउनुभयो ।

‘अर्जुन मेरो देवरको छोरा हो उहाँ बाहिर छँदा हजुरबुवा आमासँग बस्दै आएका उनले एक वर्षको १ हजार ६ सय रुपियाँ विद्यालयमा जम्मा गरेपछि मात्र अहिले पढ्न पाएको छ ।’–उहाँले भन्नुभयो ।

यता शारदा नगरपालिकाले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको जनाएको छ । नगरभित्र कुनैपनि बालबालिकाले शुल्क तिर्नु परेर विद्यालय छोडेको जानकारी आफूलाई नभएको बताउँदै नगर प्रमुख सुरेश अधिकारील यस्तो भएको पाइएमा छानबिन गर्ने जानकारी दिनुभयो ।


मिना बुढाथोकी