विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

  ०७३ फागुन १८ गते

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ ।

पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर अर्को बेञ्च ल्याएर बस्ने क्रममा 'हेड सर'ले लाठीले पिटेको र आफू बेहोस भइ ढलेपछि साथीहरूले बेञ्चमा बसाएको बताइन् ।

विद्यालयका प्रअ योगीले बेञ्चमा हिर्काएर तर्साउन खोज्दा लाठीको टुप्पोले लागेको भए पनि कुटपिट गर्ने मनसाय नभएको बताउँदै गल्ती भएको बताए । बालिकाकी आमा गोमा खत्रीले लाठीको चोटका कारण राम्रोसँग हिडडुल गर्न नसकेको बताइन् ।

घटनाको बारेमा बालिकाकी आमाले बाल हेल्पलाइनमा खबर गरे पश्चात सिविनका सिद्धराज पनेरु र इन्सेक जिल्ला प्रतिनिधि फागुन १८ गते घटनास्थल पुगी घटनाका बारेमा अध्ययन गरेको पनेरुले जानकारी दिए ।


विनोद पाण्डे