विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड

  ०७३ पुस १६ गते

बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य रूपमा बाल अधिकारसम्बन्धी शिक्षा दिनुपर्ने जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालका सदस्य सांसद रामहरी सुवेदीको भनाइ छ ।

वालविवाह न्यूनीकरणका कार्यक्रम कागजमा मात्रै सीमित नगरी गाँउकेन्द्रीत गर्नुपर्ने जिल्ला विकास समितिका पूर्व सभापति परमानन्द भट्टको भनाइ छ ।

जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालले पुस १६ गते जिल्लामा आयोजना गरेको अन्तक्रियामा सहभागि सरोकारवालाहरुले स्थानीय महिला आफ्नो अधिकार छनोट गर्नबाट बन्चीत भएको गुनासो गरेका छन् ।

विभिन्न तथ्याङ्क अनुसार ६८ प्रतिशत बालविवाह हुने यस जिल्लामा बालविवाहकै कारण विद्यालय छोड्ने दर पनि बढेको बताइएको छ । प्राथमिक तहमा २ दशमलब ८ र निम्न माध्यमिक तहमा ४ दशमलब ५ प्रतिशत बालबालिकाले विद्यालय छोड्ने गरेको जिल्ला शिक्षा कार्यालय बैतडीका सूचना अधिकारी (विद्यालय निरिक्षक) शङ्करदत्त भट्टले बताए ।

जिल्लाको सलेना गाविसमा रहेको एक विद्यालयमा मात्रै मङ्सिर महिनामा मात्रै तीन जनाले बालविवाहका कारण विद्यालय छोडेको भट्टले बताए ।

अन्तरक्रियामा सहभागी सांसद तथा स्थानीय सरोकारवालाहरूले विद्यालयस्तरमा अनिवार्य रूपमा बाल अधिकार र मानव अधिकारका बारेमा शिक्षा दिनुपर्नेमा जोड दिएका छन् । आफ्नो अधिकारको बारेमा ज्ञान भए यस्ता किसमका कूरीतिहरू हट्दै जाने स्थानीय सरोकारवालाको बुझाइ छ ।

नेपालमा ३७ प्रतिशत विवाह १८ वर्षभन्दा कम उमेरमा हुने र १० प्रतिशत विवाह १५ वर्षभन्दा कम उमेरमा हुने गरेको तथ्याङ्कहरूले देखाएको छ ।


नरी बडु