विद्यालयमा पहिरोले क्षति पुगेपछि खुला चौरमै पढाइ

  ०७६ भदौ १२ गते

आठबिसकोट नपा-१३ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा पहिरोले क्षति पुगेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू करिब एक महिनादेखि खुला चौरमा पढ्न बाध्य भएका छन् ।

साउन १७ गते आएको पहिराले हम्फा गाउँ र सो विद्यालय जोखिममा परेपछि विद्यालयमा अध्ययनरत १ सय ४० जना विद्यार्थीहरू खुलाचौरमा त्रिपाल टाँगेर पढ्नुपरेको हो ।

विद्यालयभन्दा करिब चार किलोमिटर उत्तरमा पर्ने दहलेकको खुलाचौरमा पठनपाठन सञ्चालन भइरहेको प्रधानाध्यापक भीमबहादुर थापाले जानकारी दिए ।

गाउँमा आएको पहिरोका कारण पठनपाठन नै ठप्प बनेपछि स्थानीय अभिभावकहरूसँगको सल्लाहमा त्रिपालमुनी पठनपाठन गरिरहेको उनले बताए ।

पहिरो आएदेखि विद्यालयको पठनपाठन रोकिँदा नगरपालिकाले प्रदान गरेको पाँच थान त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको विद्यालयले जनाएको छ ।

पहिरोले विद्यालयको भवनमा क्षति पुर्‍याउनुका साथै गाउँ नै जोखिममा परेपछि खुलाचौरमा पढाइ सञ्चालन गरिने र ठुलो वर्षात हुँदा भने कक्षा सञ्चालन गर्न समस्या हुने गरेकेा प्रधानाध्यापक थापाले बताए ।

अहिले पठनपाठन भइरहेको स्थानमा शौचालय र खानेपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या उत्पन्न भएको थापाको भनाई छ ।

पहिरोले हम्फा गाउँका १ सयभन्दा बढी घरहरू जोखिममा परेको र नौ घर पूर्णरूपमा क्षतिग्रस्त भएको वडाध्यक्ष विनोद पुनले जानकारी दिए ।

गत साउन १७ गते आएको पहिरोले स्थानीय ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।


मनिषा केसी