विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित

  ०७६ असार १७ गते

सिँजा गाउँपालिकाका २२ ओटा विद्यालयमा शिक्षकहरूले अनिश्चितकालिन रूपमा तालाबन्दी गरेपछि बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।

आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै निजी शिक्षकहरूले सिँजा गाउँपालिका भरीका २२ ओटा विद्यालयमा असार १५ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाका आधारभुत र माध्यमिक गरी २२ ओटै विद्यालयमा कार्यरत ६३ जना शिक्षकले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेको निजी श्रोत शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका शिक्षक हरिबहादुर रोकायाले बताए ।

उनले भने-'तलब उपलब्ध गराउन २२ ओटै विद्यालयका शिक्षकहरूले व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको अल्टिमेटम दिएका थियौँ । त्यो भन्दा अगाडि पटकपटक विद्यालय व्यवस्थापन समितिलाई भनेका हौँ । तर, सुनुवाइ भएन ।'

मागको सुनुवाइ नगरी अटेर गरेपछि विद्यालयहरूमा अनिश्चितकालिन तालाबन्दी गरेको शिक्षक रोकायाले बताए ।

निजी श्रोतका शिक्षकलाई पुरा समय प्रयोग गर्ने, निकै थोरै तलब निर्धारण गर्ने, त्यो पनि समयमै नदिने जस्ता समस्याले काम गर्ने कठिन भएको रोकायाको गुनासो छ ।

जिल्लामा निजी श्रोतका शिक्षकको श्रम शोषण गर्ने तर सेवा सुविधामा गम्भीर नहुने प्रवृति हावी हुँदा सङ्षर्घ समिति नै गठन गर्नुपर्ने अवस्था आएको शिक्षकहरू बताउँछन् ।

मासिक १ हजार देखि ५ हजार रुपियाँसम्म मात्रै पारिश्रमिक दिएपनि नियमित नहुँदा अन्तिम विकल्पका रूपमा तालाबन्दी गर्न पुगेको सङ्घर्ष समितिका कोषाध्यक्ष रोकायाले बताए ।

सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले शिक्षकहरूले समयमै तलब नपाउनु दुखद् भएपनि निजी शिक्षकको तलबसम्बन्धी विषय स्थानीय तहसँग सम्बन्धित नरहेको बताए ।

तालाबन्दी गरी सयौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरेर समस्याको समाधान नहुने र वार्तामार्फत समाधान खोज्नुपर्ने रावलको भनाई छ ।

सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्याको समाधान खोज्नुपर्ने भएकाले त्यसमा गाउँपालिकाले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्ने समेत रावलले बताए ।

आन्दोलनमा उत्रिएका निजी शिक्षकहरूले भने तलब नपाएसम्म कुनैपनि हालतमा ताला नखोल्ने अडान राखेका छन् ।


मानदत्त रावल