विद्यालयको शैक्षिक स्तर सुधार्न २१ बुँदे सम्झौता

  ०७३ माघ २८ गते

महोत्तरीमा रहेका सामुदायिक विद्यालयहरूको शिक्षाको स्तरलाई उकास्न जिल्लामा रहेका विद्यालयहरूसँग वाषिर्क कार्यनिर्देशिका सम्झौता पत्रमा हस्ताक्षर गर्राई नौलो प्रयास थालिएको छ ।

जिल्ला शिक्षा कार्यालय र बनौटा स्रोत केन्द्रमा रहेका आधारभुत २२ र मावि ६ गरी कुल २८ विद्यालयले एकवर्षो कार्य निर्देशिका सम्झौता पत्रमा माघ २८ गते हस्ताक्षर गरेका हुन् ।

महोत्तरीको शिक्षा स्तर उकास्न गरिएको यस्तो प्रयासले शिक्षा क्षेत्रमा ठुलै परिवर्तन ल्याउने अपेक्षासहित कार्य निर्देशिका सम्झौता पत्रको माध्यमले शिक्षक र प्रधानाध्यापकलाई प्रतिवद्ध गराउन यस्तो प्रयोग गरिएको जिल्ला शिक्षा अधिकारी ठुलोबावु दाहालले बताए । उनले सुरूवात बनौटा स्रोत केन्द्रबाट गरेको र चाँडै जिल्लाका सवै विद्यालयसंग सम्झौता पत्रमा हस्ताक्षर गर्राई वर्षरि त्यसको कार्यान्वय भए नभएको अनुगमन गर्ने बताए ।

सम्झौतापत्रमा कम्तिमा २ सय २० दिन पढाउने, शैक्षिक वातावरण, गुणस्तर र अनुशासन कायम राख्ने, शिक्षक र विद्यार्थी आचारसंहिता पालना गर्ने र गराउने, विद्यालय भवन वा परिसर विद्यालयको कामबाहेक कुनै पनि भोज भतेर वा सभा समारोहको लागि खुल्ला नगर्ने, विद्यालय परिसर र कक्षाकोठाहरूमा पुर्ण सरसफाई राख्ने, व्यवस्थापन समितिको निर्णयबाट नै विद्यालयको रकम खर्च गर्ने, विद्यालय सुधारको लागि वाषिर्क योजना बनाई व्यवस्थापन समितिबाट कायम गर्राई कार्यान्वयन गर्ने, शिक्षकले दैनिक पाठ योजना बनाएर मात्र शिक्षण गर्ने, शिक्षकहरूको तलव भत्ता बैङ्कबाट मात्र भुक्तानी गर्ने, शिक्षकबाट मासिक र वाषिर्क विषयगत शिक्षण योजना बनाउन लगाउने र अभिलेख समेत राख्ने, मासिक वैठकको माध्यमले विद्यालय र शिक्षक सिकाइ सुधारबारे छलफल गर्ने र अभिलेख राख्ने, विद्यालयको भौतिक सुधारका लागि अधुरा निर्माण कार्यहरू सम्पन्न गर्ने, बालबालिकाले पुस्तक पाए वा नपाएको वारे सुनिश्चित गर्ने, छात्रवृत्ति पाए वा नपाएको बारे पुर्ण जानकारी राखी अझै छात्रवृत्ति पाउन नसकेका विद्यार्थीको लागि सरोकारवालासँग समन्वय गरी तुरून्त छात्रवृत्तिको व्यवस्था गराउने, मासिक, त्रैमासिक र वाषिर्क परीक्षा ग्रिड अनुसार सञ्चालन गरी अभिभावकको उपस्थितिमा नतिजा प्रकाशित गर्ने, सिकाइ उपलब्धिबारे समीक्षा गरी अभिलेख जिल्ला शिक्षा कार्यालयमा पठाउने, विद्यार्थीको नियमित औसत हाजिरी लक्ष्य अनुसार पुर्‍याउने र विद्यालय छोड्ने क्रम शुन्यमा झार्न अपनाउन सक्ने सबै सकारात्मक उपायहरू अवलम्वन गर्ने, विद्यालयको हरेक सूचना, आर्थिक विवरण पारदर्शी गर्ने, नियमानुसार सामाजिक परीक्षण गराउने, विद्यालयलाई प्राप्त निकासा रकम तोकिएको शीर्षकमा आवश्यक विधि र प्रकृया पुर्‍याई गुणस्तर, परिणाम, समय र लागतमा प्रभावकारिता खर्च गरी प्रगति हासिल गर्ने, बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्ने र एक वर्षा देखिने खालको सुधारात्मक परिवर्तन गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्न आएका विद्यालयका प्रधानाध्यापकहरूले जिशिअसमक्ष शिक्षकको अभाव, भौतिक पुर्वाधरको कमीलगायतका विभिन्न समस्याहरू राखेकोमा जिशिअ दाहालले क्रमिक रूपमा सबै समस्या समाधान गर्ने वचनवद्धता व्यक्त गरेका थिए ।


अजयकुमार साह