विद्यालयको भवन पुननिर्माण नहुँदा जोखिम पूर्ण भवनमा बालबालिका पढन बाध्य

  ०७६ फागुन २३ गते

जीर्ण र जोखिमपूर्ण रहेको भेरी नपा–११ जगतिपुरस्थित शिवशंकर माध्यमिक विद्यालयको भवन पुननिर्माण नहुँदा विद्यार्थीहरू जोखिमपूर्ण रुपमा अध्ययन गर्न बाध्य भएका छन् ।

२०१७ सालमा स्थापना भएको विद्यालय २०५४ सालमा माविमा स्तरोन्नति भएको थियो । अहिले यहाँ करिब आठ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी पनि पर्याप्त रहेको छ । तर, जोखिमपूर्ण मात्र होइन अपर्याप्त भौतिक संरचनाका कारण विद्यालयको पठनपाठनमा समस्या भइरहेको छ । ०७६ असारमा आएको हावाहुरीले विद्यालयको छाना उडाएको थियो । जुन हालसम्म पनि मर्मत हुन सकेको छैन ।

१२ कक्षासम्म पढाई हुने सो विद्यालयको एकदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई जीर्ण र जोखिम पूर्ण भवनमा पठनपाठन गराउनुु पर्ने बाध्यता भएको विद्यालयका प्राचार्य रामलाल आचार्यले बताउनु भयो ।

शिवशंकर माविमा हाल प्रावि बाहेक तीन ओटा भवन छन् । एउटा भवनमा प्रशासन, कम्प्युटर शाखा र लेखा शाखा सञ्चालनमा छ । बाँकी दुई कोठे एउटा भवनमा कक्षा ९ तथा १० र तीन कोठे भवनमा कक्षा ६ देखि ८ को पढाई हुन्छ । “कम्तीमा एउटा पक्की भवनसम्म भएको भए धेरै सहज हुने थियो । यही विद्यालयका पूर्व विद्यार्थी अहिले राष्ट्रिय राजनीतिको महत्वपूर्ण स्थानमा हुनुहुन्छ, नगरभित्रकै व्यक्ति संघीय सरकारको मन्त्री हुनुहुन्छ”, प्रधानाध्यापक आचार्यले भने, तर हामी ‘बत्तीमुनिको अँध्यारो’ भने जस्तो भयौ ।

पञ्चायतकालमा निर्माण भएको भवन हालसम्म पुननिर्माण नहुँदा एकदेखि पाँच कक्षासम्मका करिब ९० भन्दा बढी विद्यार्थीलाई जीर्ण र जोखिमपूर्ण भवनमा राखेर पढाउनुपर्ने बाध्यता रहेको प्राचार्य आचार्यले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘भवनको पर्खाल आधा भत्किएको छ । जीर्ण र जोखिमपूर्ण रूपमा रहेको भवनका कारण वर्षायाममा विद्यार्थीको पढाई अवरूद्व हुने गरेको छ । पानी पर्न थाल्यो भने विद्यालय छुट्टी गर्नुपर्ने अवस्था छ । जीर्ण भवनका झ्याल ढोका समेत छैनन् । भवनका अधिकांश पथ्थर खसेका छन् । भवन भत्किने डर पनि उत्तिकै छ । तर, भवन अभावका कारण जोखिम मोलेर पढाउनुको विकल्प छैन् ।’

विद्यालयलाई स्थानीय सरकार र संघीय सरकारका तर्फबाट सहयोग नै नभएको भने होइन । तर, उक्त रकम विद्यालयले प्रयोग गर्ने गरी प्राप्त भएको छैन । प्रतिनिधि सभामा जाजरकोटबाट निर्वाचित वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको सांसद विकास कोषबाट १८ लाख रूपियाँ विनियोजन भएको छ । विद्यालयले भवन र घेराबारका लागि प्रस्ताव गरेको थियो । तर, सांसद विकास कोषबाट घेरावारका लागि मात्र १८ लाख रूपियाँ विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालु हमाल बताउँछन् । विनियोजित रकम विद्यालयले प्राप्त गरेको छैन् । रकम प्रयोगका सम्बन्धमा केही विवाद समेत देखिएको छ । रकम विद्यालयको खातामा जम्मा गरिदिन र विद्यालय व्यवस्थापन समितिले नै घेरावारको काम गर्न पाउनुपर्ने विद्यालय व्यवस्थापन समितिको माग छ ।

तर, नगरपालिकाले उपभोक्ता समिति गठनको प्रक्रिया अघि बढाउन वडापालिकालाई पत्राचार गरेको छ । विवादकै कारण घेराबार निर्माणको काम अघि बढ्न सकेको छैन । यस्तै, भेरी नगरपालिकाले विद्यालयमा शौचालय निर्माणका लागि सात लाख रूपियाँ विनियोजन गरेको छ । तर, उक्त रकम पनि सम्झौता हुन बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालले बताए ।
20200306 Jajarkot shivasankar school (2) shivasankar school (3)


दिनेश कुमार श्रेष्ठ