विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा आगजानी, २७ लाखको क्षति

  ०७६ माघ २२ गते

धनुषाको मिथिला नपा–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको कम्प्युटर र विज्ञान प्रयोगशालामा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेका छन् ।

Photo20200205dhanusha (4)

अज्ञात समुहले माघ २१ गते बिहान १ः२५ बजे पेट्रोल छर्केर कम्प्युटर प्रयोगशालामा आगजनी गरेको विद्यालयका कम्प्युटर विषयका शिक्षक विजय कुमार महतोले जानकारी दिनुभएको छ । उहाँका अनुसार कम्प्युटर प्रयोगशालामा भएको आगलागीबाट २७ लाख मुुल्यबराबरको क्षति भएको  छ ।

गत मङ्सिर महिनामा नेपाल टेलिकमले विद्यालयलाई उपलब्ध गराएको २४ थान कम्प्युटर र विद्यालयको तर्फबाट थप गरिएको दुई थान कम्प्युटरसहित २६ थान कम्प्युटर, सिसिटीभी क्यामेरा, कार्पेट, टेवल, कुर्सी, कोठाको झ्याललगायतका समान जलेर नष्ट भएको विद्यालयका प्रध्यानाध्यापक रामकुमार महतोले जानकारी दिनु भएको छ ।

Photo20200205dhanusha (2)

विद्यालयमा १६ ओटा सिसिटीभी जडान गरिएको छ । कम्प्युटर प्रयोगशालालाई लक्षित गरेर बाहिरतर्फ चार ओटा र भित्र एक ओटा सिसिटीभी जडान गरिएको छ । तर बाहिर जडान गरिएको सिसिटिभीको फुटेजमा कुनै व्यक्ति आएको-गएको देखिएको छैन् । कम्प्युटर प्रयोगशालाको भित्री भवनमा राखिएको सिसिटीभी फुटेजमा प्रयोगशालाको भेन्टिलेटरबाट कसैले पेट्रोल छर्केर आगो फालेको देखिएको कम्प्युटर शिक्षक विजय कुमार महतोले जानकारी दिनु भएको छ ।

कम्प्युटर प्रयोगशालाको छेउमा पेट्रोल राखिएको डेढ लिटरको एक बोतल समेत फेला परेको छ । कम्प्युटर ल्यावमा आगजनी भएको प्रयोगशाला कोठाकै अगाडीको प्यासेजमा कार्यालय सहयोगी रजाई यादव सुति रहेको बेलामा एक्कासी गन्ध र धुवाँ आएपछि राति २ः१८ मा कार्यालय सहयोगी यादव उठेर तल आएको सिसिटिभी फुटेजले देखाएको शिक्षक महतोले बताउनु भएको छ ।

Photo20200205dhanusha (3)

यसअघि माघ ११ गते राति यसै विद्यालयको विज्ञान प्रयोगशालाको भवनमा समेत आगजानी गरिएको विज्ञान शिक्षक रमेशलाल कर्णले जानकारी दिनु भएको छ । विज्ञान प्रयोगशालामा माघ ११ गते राति भएको आगजनी घटनाले प्रयोगशालामा भएको दराजमा राखिएको माइक्रोस्कोप दुई थानलगायत विज्ञान प्रयोगशालाको लागि राखिएको समानहरू जलेर नष्ट भएको थियो ।

शिक्षिका सुधा कुमारी कर्ण र छोरी रिचा कुमारी कर्णको दराजमा राखिएको शैक्षिक सर्टिफिकेटलगायतको सामाग्री जलेर नष्ट भएको विद्यालयले जनाएको छ ।

Photo20200205dhanusha (1)

माघ ११ गते विज्ञान प्रयोगशालामा भएको आगजनी घटनाबारे इलाका प्रहरी कार्यालयलाई जानकारी गराएपछि घटनास्थल पुगेका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीको टोलीले विजुली सर्ट भएर आगलागी भएको मुचुल्का गरेका थिए ।

विज्ञान शिक्षक रमेशलाल कर्णले प्रयोगशालामा भएका अन्य सरसमानमा कुनै क्षति नभएपनि दराजमा मात्रै आगलागी भएकोले आफुले नियतवश आगजनी गरेको आशंका गरेपनि प्रहरीको टोलीले विजुली सर्ट नै भएको भनेपछि घटना सेलाएको बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर तिर्थ कार्कीका अनुसार विद्यालयको कम्प्युटर प्रयोगशाला र यस अघि विज्ञान प्रयोगशालामा भएको आगजानी घटनाबारे सुक्ष्म तरिकाले अध्ययन गरि रहेको बताउनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह