विद्यालयका शौचालय प्रयोगमा नआएपछि पठनपाठनमा समस्या

  ०७६ माघ १९ गते

बनगाड कुपिण्डे नगरपालिकाको सरस्वती आधारभूत विद्यालय लाखरमा कक्षा आठमा अध्ययनरत मनकुमारी पुनले विद्यालयमा शौचालय प्रयोग विहीन भएपछि पठनपाठनमा समस्या भएको बताउनुहुन्छ ।

विद्यालयको शौचालयमा पानीको अभावले प्रयोग विहीन बनेछि विद्यार्थीले जथाभावी दिसापिसाब गर्दा विद्यालय आसपासको क्षेत्र समेत दुर्गन्धित हुन थालेको उहाँले बताउनु भयो ।

गिता विकले महिनावारी भएको बेला अधिकांश दिनमा पढाइ छुट्ने गरेको बताउनु भयो । आफुहरू महिनावारी भएको बेला शौचालय नहुँदा समस्या हुने गरेको छ, उहाँले भन्नु भयो, ‘अन्य ठाउँका विद्यालयमा निशुल्क प्याड वितरण भईरहेको समयमा हामीले विद्यालयमा शौचालयको समेत प्रयोग गर्न सकी रहेका छैनौं ।’

यस्तै अर्का छात्र राजकुमार रानाले विद्यालयमा शौचालय नहुँदा बालबालिका कक्षा छाडेर विद्यालय नजिकैका घरका शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । विद्यालय नजिकै रहेका घरमा कोही नभएको समयमा जाने गरेको बताउँदै उहाँले अधिकाश विद्यार्थी जङ्गलमै गएर दिशा पिसाब गर्ने गरेको दुखेसो पोख्नुभयो । यसरी शौचालयको अभावमा विद्यालयमा पठनपाठन समेत प्रभावित बनेको छ ।

उहाँहरू मात्रै हैन यस नगरपालिकामा रहेका ६५ सामुदायिक विद्यालय मध्ये अधिकांश विद्यालयका शौचालयमा पानी अभावका कारण समस्या हुने गरेको छ । पानी अभावका कारण नगरभित्रका करिब ३५ विद्यालयका शौचालय प्रयोगविहीन बनेपछि अधिकांश विद्यार्थीलाई खुलामा शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

पानी अभावका कारण विद्यालयमा रहेका शौचालय प्रयोगविहीन हुँदा नगरभरिका करिव चार हजार विद्यार्थी प्रभावित बनेका भैरवी निम्न मावि देवस्थलका प्रद्यानाध्यापक खिमलाल विकले बताउनुभयो । उहाँका अनुसार विद्यालयको शौचालय तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । विद्यार्थीका लागि पिउने पानी ल्याउन समेत आधा घण्टा टाढाको मुहानमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

सिद्धेश्वरी माविको समस्या पनि उस्तै छ । यस विद्यालयका प्रद्यानाध्यापक थुमन केसीका गाउँमा नै खानेपानी अभाव हुँदा विद्यार्थीलाई खुला शौच गर्न पठाउनुपर्ने बाध्यता रहेको छ । ‘कहिले जङ्गलमा त कहिले आफन्तका घरका शौचालयमा जानुपर्ने बाध्यताले पठनपाठन समेत प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।

पानीको अभावमा अधिकांश विद्यालयका शौचालय लामो समयदेखि दुर्गन्धित बनेको कृष्ण मावि, संग्रहरीका प्रद्यानाध्यापक मोहनकुमार रोकायले गुनासो गर्नुभयो । खानेपानी अभावका कारण विद्यालयमा अन्य सरसफाइका काममा पनि बाधा परेको उहाँको भनाइ छ । उनले विद्यार्थीलाई खानेपानी सुविधा दिन एक घण्टा टाढाबाट पानी बोकेर ल्याइने गरिएको जानकारी दिनुभयो ।

गाउँमा लामो समयदेखि खानेपानी अभावका कारण स्थानीयलाई समेत समस्या हुने गरेको बन्गाडकुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयका मात्र नभइ अधिकांश स्थानीयका शौचालय पानी अभावकै कारण प्रयोगविहीन बनेका छन् । जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुगेपनि बाहिरै शौच गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस, वडा कार्यालय, नगरपालिका र अन्य सङ्घसस्थाले लाखौं खर्चेर निर्माण गरेका शौचालय प्रयोगविहीन बनेपछि लगानी समेत खेर गएको छ ।

यता नगरपालिकाले पानी अभावमा शौचालय प्रयोग विहीन भएका विद्यालयको यकिन तथ्याङ्क नभएको जनाएको छ । नगर शिक्षा शाखा प्रमुख चक्रबहादुर रावतले केही गाउँमा अझैपनि खानेपानी नहुँदा समस्या भएको बताउँदै यसको प्रत्यक्ष मारमा विद्यार्थी परेको बताउनुभयो । खानेपानी नभएका गाउँमा आगामी वर्षमा खाने पानी पु¥याउने योजना नगरको रहेको बताउँदै गाउँमा पानी पुगेपछि विद्यालयलाई पनि सहज हुने उहाँको भनाइ छ ।
83398230_2983104135042162_3762147367088816128_n


मिना बुढाथोकी