प्रध्यानाध्यापकलाई अमानवीय व्यवहार गरेको घटनाको विरोध

  ०७७ जेठ २४ गते

लिसंखुपाखर गाउँपालिका–२ स्थित श्री बुद्धदय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ४५ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई वडा कार्यालयकोे प्राङ्गणमा अमानवीय व्यवहार गरेको घटनाको जेठ २४ गते नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र प्रधान अध्यापक समाज सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरि विरोध जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्य समितिकी अध्यक्ष मैया पौड्याल र प्रअ समाज सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत् घटनाको बिरोध जनाइएको हो ।

बन्दाबन्दीको समयमा निर्माणाधिन विद्यालयमा बाहिरी जिल्लाबाट कामदार ल्याएर विद्यालयमा काम लगाएको भन्दै जेठ २२ गते प्रअ  श्रेष्ठलाई स्थनीयले पदबाट राजीनामा दिन लगाई उठबस समेत गराएर अमानवीय व्यवहार गरेको शिक्षक सङ्गठनको आरोप छ ।

लिसंखुपाखर गाउँपालिका–२ स्थित श्री बुद्धदय माविमा नयाँ भवन निर्माण भइरहदा बन्दाबन्दीले रोकिएको थियो । रोकिएको निर्माणको कार्य खुल्ला गर्ने गाउँपालिकाले निर्णय गरेपछि ठेकेदारले काम सुरु गर्न कामदारहरू ल्याउदा आक्रोशित स्थानीयको भीडले प्रअमाथि आक्रमण गर्ने प्रयास गरेको लिसंखुपाखर गाउँपालिका वडा–२ का वडा अध्यक्ष हस्तबहादुर लामाले बताउनु भयो ।

विद्यालय भवन निर्माण कार्यको लागि ल्याइएका कामदारहरूलाई क्वारेण्टाइनमा राखेर समस्या समाधान गर्न खोज्दा स्थानीय युवाहरूले प्रअलाई सार्वजनिक स्थलमा उठबस गराई राजीनामा दिन बाध्य पारेको लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष हेमगंगा मुत्तानले बताउनु भयो ।

शिक्षक माथि भएको अमानवीय व्यवहार घटनाका आरोपितहरूलाई कानुनी दायरामा ल्याउन उजुरी गर्ने तयारी भइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सदस्य राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।


नातिबावु धिताल