विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयमै धामीझाँक्री, विद्यालय बन्द

  ०७६ जेठ १५ गते

विद्यार्थीहरु विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुइँमा ढलिहाल्छन् । भुइँमा ढलेपछि विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिनेलगायतका फरकफरक लक्षण देखाउँछन् ।

यो सङ्खुवासभाको शिलिचोङ गाउँपालिका वडा नं २ बालामा रहेको हिमालज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा देखिएको अनौठो रोग हो । यो विद्यालयमा विगत एक अप्ता अघिदेखि विद्यार्थीहरु बेहोस भएर ढल्ने समस्या देखिएको छ ।

अनौठो रोग देखिएपछि धामी झाँक्री राखेर एक साताका लागि विद्यालय बन्द गरिएको छ । गाउँको कुल देवता रिसाएका भनी अभिभावकले धामी राख्न आग्रह गरेकाले विद्यालयमै धामी राखिएको विद्यालयका प्रधानाध्यापक गंगाराज राईले बताए ।

photo20190529sankhusabha

तर, धामी राखे पनि विद्यार्थीहरुको समस्या उस्तै रहेकोले एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा रहेका १२ देखि १४ वर्ष उमेर समूहका १५ जनाभन्दा बढी छात्रछात्रालाई यो समस्या देखिएको सिलिचोङ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मोहनशमसेर राईले बताए ।

केही विद्यार्थीलाई अस्पताल लगेर उपचार गरे पनि निको नभएपछि विद्यालयमा धामी राख्नु परेको वडाध्यक्ष राईले बताए ।

दुई महिनादेखि विद्यार्थीहरुमा यस्तो समस्या भइरहेकाले पठनपाठनमा समेत असर पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको यस्तो समस्या उत्पन्न भएपछि अभिभावकहरु चिन्तित भएका छन् ।

प्रधानाध्यापक राईका अनुसार एक साताअघि पहिलो पटक एक जना छात्रामा यो समस्या देखा परेको थियो ।

त्यसको दुई दिन पछि पुनः अन्य विद्यार्थीमा पनि यस्तो समस्या देखा परेपछि दुई दिन विद्यालय बन्द गरी पुनः सञ्चालन गर्दा समेत यस किसिमको समस्या दोहोरिएको उनले बताए ।

बेहोस हुने समस्या देखेपछि अभिभावकहरुले धामी झाँक्री पनि लगाए तर निको भएन । विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि विद्यार्थीहरु विद्यालय नै आउन छाडेका छन् । पढाई पनि राम्रोसँग संचालन हुन सकेको छैन ।


बाबुराम बास्तोला