विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षिका विद्यालयबाट निष्काशित

  ०७५ कात्तिक २९ गते

विद्यार्थी कुटपिट गरेको आरोपमा नोबल सेकेण्डरी बोर्डिङ्ग स्कुल देवचुली नपा–१० की शिक्षिका विद्या चापागाईंलाई विद्यालय व्यवस्थापन समितिले निष्काशन गरेको छ ।

शिक्षिका चापागाईंले कात्तिक १८ गते सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय छात्र कुशल रानाभाट, रोहित खत्री, सुशान्त अर्याल, अंशुमन श्रेष्ठ र प्रिन्स बसेललाई उठबस गराई शारीरिक यातना दिएको आरोप लागेको थियो ।

शिक्षिकाको यातनाबाट कुशल रानाभाटको गोडामा निलो डाम रहेको, मांशपेशी थिलथिलिएको र जाङ सुन्निएपछि सोही दिन विद्यालय प्रशासनमा जानकारी गराएको उनका दाई केशव रानाभाटले बताए । शिक्षिका चापागाईंले विद्यार्थीहरूलाई ५ सय पटक उठबस गर्न लगाएको केशवको आरोप छ ।

विद्यार्थीलाई यातना दिएको जानकारी प्राप्त भएपछि कात्तिक २० गतेबाट विद्यालय प्रशासनबाट निलम्बन भएकी शिक्षिकालाई कात्तिक २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले निष्काशन गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक किरण भट्टराईले जानकारी दिए ।


तिर्थराज डुम्रे