विद्यार्थीलाई यातना दिएको घटनाको अनुगमन

  ०७३ कात्तिक ११ गते

लहान नपा-२ स्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा कात्तिक १० गते विद्यार्थीहरूलाई यातना दिएको घटनाको अधिकारकर्मीहरूद्वारा कात्तिक ११ गते अनुगमन गरिएको छ ।

photo20161027siraha

बालबालिकालाई चर्को घाममा कुखुरा बनाएर यातना दिँदै गरेको फोटोसहितको सामाचार कात्तिक १० गते सञ्चारमाध्याममा सार्वजनिक भएपछि मानव अधिकारकर्मीहरूले स्थलगत अनुगमन गरेका हुन् ।

मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू इन्सेक र इह्रिकनका प्रतिनिधिले विद्यालयमा पुगेर यातनाका सम्बन्धमा सरोकारवाला पक्षसँग जानकारी लिएका हुन् । मानव अधिकार संरक्षण केन्द्र सञ्जालकी सचिव गङ्गा अधिकारीले शिक्षिकाले विद्यार्थीहरूलाई दिइएको गृहकार्य गरेर नआएको भन्दै चार जना विद्यार्थीलाई घाममा कुखुरा बनाइएको विद्यार्थीहरू र शिक्षिकाले स्वीकार गरेको बताइन् ।

यसैबिच, जिल्ला शिक्षा कार्यालय सिरहाले कात्तिक ११ गतेबाट घटनाको अनुसन्धान थालेको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले बताए । उनले भने-'बालबालिकालाई घाममा राखेर कुखुरा बनाइएको फोटो सार्वजनिक भएको छ । यस घटनाप्रति शिक्षा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । बालबालिकालाई यातना दिने शिक्षिका र विद्यालयलाई कारबाहीको दायरामा ल्याउछौ ।'

उनले घटना अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालय सिरहाका विद्यालय निरीक्षक भवानी कट्टेललाई खटाइएको बताए ।

गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा कार्यरत शिक्षिका निशा चौधरीले कक्षा-१ मा अध्ययनरत लहान पा-२ की सात वर्षीया राधिकाकुमारी यादव, १० वर्षीया निकिताकुमारी चौधरी, १० वर्षीय सशुधन ठाकुर र लहान नपा-२० का नौ वर्षीय अमितकुमार महतोले गृहकार्य नगरेको आरोपमा कात्तिक १० गते विद्यालयको चौरमा 'कुखुरा' बनाइ यातना दिएको आरोप लागेको छ ।


दुर्गा परियार